फाइल तस्वीर
चितवन, जेठ २८ गते । शिलान्यास भएको झण्डै ६ वर्षपछि चितवनको इच्छाकामना गाउँपालिका–६ को वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ । वि सं २०७५ भदौमा सो भवनको शिलान्यास गरिएको हो ।

रु एक करोडभन्दा बढीको लागतमा निर्माण गरिएको उक्त वडा कार्यालय भवनको आइतबार जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले उद्घाटन गर्नुभयो । भवन निर्माणको काम ६ वर्षअघि थाले पनि जग्गाको स्वामित्वबारे बिबाद हुँदा निर्माणमा ढिलाइ भएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । जग्गा स्वामित्वको कानुनी प्रक्रिया हल गरी भवन निर्माण गरिएको उहाँको भनाइ छ ।

“भवन निर्माण गरेर कार्यालय सञ्चालनमा आएको छ’’, अध्यक्ष गुरुङले भन्नुभयो । उृद्घाटन कार्यक्रममा जग्गादाता र पूर्व वडाध्यक्ष भूपेन्द्र चेपाङलाई सम्मान गरिएको थियो ।