काठमाडौं – सत्ता गठबन्धन दलको बैठक आज अपराह्न ४ बजे बस्दैछ । बैठकमा न्यूनतम साझा नीति कार्यक्रमबारे छलफल हुने भएको हो । यसअघि हिजो बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा विचारविमर्श भएको थियो ।

उहाँहरुबीच सरकारको प्रभावकारिता, न्यूनतम साझा कार्यक्रमलगायतका विषयमा छलफल भएको थियो । गत विहीबार बसेको सत्ता साझेदार दलको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न एमाले अध्यक्ष ओलीको संयोजकत्वमा कार्यदल बनाएको थियो ।

प्रधानमन्त्री दाहालले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँ विभिन्न राजनीतिक दलसहित एक सय ६९ सांसदको समर्थनमा यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । नेपालको संविधानको धारा ७६ उपधारा (२) बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ । प्रधानमन्त्री दाहालले विश्वासको मत लिएपछि मात्रै मन्त्रीपरिषद् गठन गर्ने बताउनुभएको छ । त्यसकै लागि सात दलीय गठबन्धनमा न्यूनतम साझा नीति कार्यक्रमबारे छलफल गर्न आज अपराह्न गठबन्धनको बैठक बस्न लागेको हो ।