काठमाडौं – राष्ट्रियसभा सदस्य वामदेव गौतमले वर्तमान सरकारले मुलुकभित्र स्वदेशी उत्पादनमा वृद्धि गरी दिगो विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ । आज राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद गौतमले वर्तमान सरकारले मुलुक भित्र नै उत्पादन वृद्धि गरी दिगो विकासलाई समेत मद्दत गर्दै सुशासन कायम गर्न पहल गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले नेपालमा सम्पूर्ण खाद्यान्नदेखि जनैसम्म विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेकाले मुलुक गरिबी भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । अहिले विश्वका अन्य देशभन्दा नेपालको अर्थतन्त्रमा पछाडि परेको गौतमको भनाई छ । राष्ट्रियसभा सदस्य गौतमले अब सबैले समाजवादी उत्पादन, वितरणमा सरकारले जोड दिन आवश्यक रहेको बताउनुभयो । सरकारले मुलुकभित्र उत्पादन वृद्धि गरी आत्मनिर्भर बन्न सक्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले खाद्यान्न, फलफूल, औषधिलगायत उत्पादनमा वृद्धि गरी आत्मनिर्भर बन्नसके मुलुकभित्र नै रोजगारी समेत सिर्जना हुने बताउनुभयो । उहाँले नेपाली काङ्ग्रेस नेतृत्वका सरकारले विगतमा सरकारी उद्योगहरूमा अफ्ठ्यारो पर्ने र निजीकरण गर्ने काम गरेको उल्लेख गर्दै विगतमा नेपाली काङ्ग्रेसको सरकारले सरकारी उद्योग कारखानाहरू निजीकरण गर्दा अहिले समस्या भएको आरोप लगाउनुभयो ।