काठमाडौं – पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टीले राजनीतिक समितिको बैठक बोलाएको छ । पार्टीले यही पुस २४ गते आइतबार बस्नेगरी राजनीतिक समितिको बैठक बोलाएको हो ।
पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेका अनुसार उक्त राजनीतिक समितिको बैठकमा पार्टीको आगामी कार्यदिशा, समसामयिक राजनीतिलगायत विषयमा छलफल गरी निर्णय हुने बताइएको छ ।
गत मङ्सिर ४ को चुनावमा नेपाल समाजवादीले नेकपा माओवादी केन्द्रको चुनाव चिन्हमा आफ्ना उम्मेदवार उठाएको थियो । समानुपातिकतर्फ पनि माओवादीकै सूचीमा समाजवादीका उम्मेदवारको नाम समावेश थियो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा समाजवादीका अध्यक्ष बाबुराम भट्टराई पनि सत्ता गठबन्धनका बैठकहरूमा सहभागी हुँदै आउनुभएको छ । डा. भट्टराईले सोमबार पनि प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग समसामयिक राजनीतिक घटनाक्रम र सत्ता गठबन्धन तथा सरकारलाई थप प्रभावकारी बनाउनेबारे छलफल गर्नुभएको थियो ।
नेपाल समाजवादी पार्टीभित्र माओवादीसँग एकता गरेर जानुपर्ने आवाजसमेत उठ्ने गरेको छ । यस विषयमा नेपाल समाजवादी र माओवादीका नेताहरूबीच छलफल पनि भइरहेको बताइएको छ ।
यद्यपि, नेपाल समाजवादीका प्रचार विभाग प्रमुख पाण्डेले पार्टीको राजनीतिक समितिको बैठकमा एकताबारे माओवादीसँग विभिन्न तहमा छलफल गर्ने र समाजवादी धारको नेतृत्व गरेर अघि बढ्न नेसपा र माओवादी सहमतजस्तै भएकोले पार्टी एकताकै बाटोमा आफूहरू जान सक्ने बताउनुभयो ।