काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन आज निर्देशनात्मक सम्बोधन सम्बोधन गर्नुहुने भएको छ । उहाँले प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सरकारको काम कारवाही प्रभावकारी बनाउन सरकारका सचिवसँग सोमबार छलफल गर्नुभएको थियो । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्री दाहालले सचिवका कार्यविवरण सुनिसकेपछि आज आवश्यक निर्देशन दिनुहुने भएको हो ।

पुस १० मा प्रधानमन्त्रीमा नियुक्त हुनुभएका दाहालले सुशासन र नागरिकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्ने घोषणा गर्नुभएको थियो । पुस ११ मा उहाँले नागरिकलाई सेवा प्रदान गर्ने निकायमा भइरहेको बेथिति अन्त्य गर्ने घोषणा गर्नुभएको थियो ।

विशेष गरी राहदानी वितरण, सवारी चालक अनुमतिपत्रलगायत सेवाग्राहीको बढी भीडभाड हुने कार्यालयको कामलाई सरल र सहज बनाउने प्रधानमन्त्रीको योजनाअनुसार सोमबार पहिलो चरणमा प्रधानमन्त्रीले सचिवहरुसँग छलफल गर्नुभएको हो । केही सचिव र विभागका प्रमुखले भने आ–आफ्नो विभागको कार्यविवरणबारे प्रस्तुति दिन बाँकी रहेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा सचिवहरुले आ–आफ्नो मन्त्रालयको वस्तुस्थितिबारे प्रधानमन्त्रीलाई ‘रिपोर्टिङ’ गर्नुभएको थियो । उहाँहरुले मन्त्रालयको नीति तथा कार्यक्रम, वार्षिक बजेट र कार्यसम्पादनमा भएका कमी तथा कमजोरीका बारेमा जानकारी गराउनुभएको थियो ।

छलफलमा गृह, अर्थ, शिक्षा, परराष्ट्र, भौतिक पूर्वाधार, संस्कृति तथा पर्यटनलगायत मन्त्रालयका सचिवहरूले आ–आफ्नो मन्त्रालयको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । केही सचिव र विभागको विवरण मङ्गलबार प्रस्तुत भएपछि मात्रै प्रधानमन्त्रीले निर्देशनात्मक सम्बोधन गर्ने कार्यसूची तय भएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक शर्माले जानकारी दिनुभयो ।