काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले तत्काल सरकारमा नजाने निष्कर्ष निकालेको छ । एकीकृत समाजवादीको आज बसेको पोलिटब्युरो बैठकले तत्काल सरकारमा जान नहुने निष्कर्ष निकालेको हो । तर, सरकारबाट प्रस्ताव आए सोच्न सकिने निष्कर्षमा नेताहरू पुगेको बताइएको छ ।

बैठकमा सरकारमा तत्कालै जानुहुँदैन भन्नेहरूको बहुमत रहेको एक पोलिटब्युरो सदस्यले जानकारी गराउनुभयो । बैठकले साँच्चै आवश्यकता महसुस गरेर सरकारमा सहभागी हुन प्रस्ताव गर्नुभयो भने सोच्ने निष्कर्ष निकालेको छ ।

एकीकृत समाजवादीले दुई दिनसम्म चलेको स्थायी समिति सदस्यहरुको बैठकबाट केही सदस्यले सरकारमा जानुपर्ने बताएपनि अधिकांशले सरकारबाट औपचारिक प्रस्ताव नआए सरकारमा जानेबारे छलफल नै गर्न नहुने निष्कर्ष निकालेको थियो । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेर सरकारमा सामेल हुने कि नहुने भन्ने विषयलाई लिएर आज बसेको पोलिटब्युरो बैठकले प्रधानमन्त्री दाहालले सरकारमा सहभागी हुन प्रस्ताव गर्नुभयो भने सोच्ने निष्कर्ष निकालेको हो ।