काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को पोलिटब्यूरो बैठक बस्दैछ । एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठक आज बिहान ११ बजे पार्टी कार्यालय आलोकनगरमा बस्ने भएको हो ।

यसअघि शनिबार र आइतबार गरी दुई दिनसम्म चलेको स्थायी समिति बैठकले सरकारमा जाने वा नजाने तथा सरकारलाई समर्थन मात्रै गर्ने कि प्रतिपक्षमा बस्ने भन्ने विषयमा कुनै निर्णय लिन नसकेपछि एकीकृत समाजवादीले आज पोलिटब्यूरो बैठक बोलाएको हो ।

एमालेसहित सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेपछि प्रधानमन्त्री ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्ने÷नगर्नेलगायतका विषयमा छलफल गर्न एकीकृत समाजवादीले हिजो र अस्ति दुई दिनसम्म स्थायी समिति बैठक राखेको थियो । बैठकमा अधिकांश सदस्यले सरकारलाई समर्थन गर्नुपर्ने बताएपछि सो बिषयमा छलफल गरी निष्कर्षमा पुग्न आज पोलिटब्यूरो बैठक बस्न लागेको हो ।