काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति सदस्यहरूको बैठकले सरकारमा जान हतार गर्न नहुने सुझाव दिएका छन् । पार्टी कार्यालय तीनकुनेमा हिजोदेखि जारी बैठकमा उनीहरूले सरकारलाई समर्थन गर्ने कुरा फरक भए पनि सरकारमा जान हतार गर्न नहुने सुझाव दिएका हुन् ।
एकीकृत समाजवादी पार्टीका उपमहासचिव गङ्गालाल तुलाधरले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई समर्थन गर्न आग्रह गरेता पनि औपचारिक पत्र नआएसम्म सरकारलाई समर्थन गर्न नसकिने धारणाहरू आएको बताउनुभएको छ । उपमहासचिव तुलाधरले बैठकमा यसअघि पाँचदलीय गठबन्धनकै सहकार्यमा रहेका दलहरूमध्ये माओवादी केन्द्रका अध्यक्ष पुष्पमल दाहाल नै नयाँ सरकारको नेतृत्वमा पुगेकाले समर्थन दिन उपयुक्त हुनेमा पनि केही सदस्यहरूको जोड रहेको बताउनुभयो ।
उहाँले पार्टी एकताका सवालमा चलेका चर्चाहरू नेकपा एमालेका केही नेताहरूले चलाएको र भ्रममा पर्न नहुने धारणा राख्दै अहिले एकताका प्रयासहरू नै नभएको स्पष्ट पार्नुभयो । उहाँले बैठकमा राष्ट्रिय राजनीतिका साथै पार्टीलाई सशक्त बनाउने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।