काठमाडौं – नेकपा क्रान्तिकारी माओवादीले आफ्नो पार्टी राजतन्त्र ब्युँत्याउने पक्षमा नरहेको दावी गरेको छ । हालसालै योहो टेलिभिजनमा दिएको अन्तर्वार्तामा महासचिव मोहन वैद्य किरणले देशको स्वाधीनताको रक्षाका लागि राजासँग पनि मिलेर अघि बढ्न सकिने धारणा सार्वजनिक गर्नुभएको थियो ।

आज पार्टीका प्रवक्ता प्रतिकले एक विज्ञप्ति जारी गर्दै आफ्नो पार्टी राजतन्त्र ब्युँत्याउने पक्षमा नरहेको दावी गर्नुभएको छ । उहाँले पार्टीले लिएको देशभक्तिपूर्ण अडानबाट आत्तिएकाहरुले गलत प्रचार गरेको आरोप लगाउनुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यो लाञ्छना एमसीसीको विरोध, भारतीय विस्तारवादी शासकवर्गले अतिक्रमण गरेको लिपुलेक, कालापानी तथा लिम्पियाधरा क्षेत्र नेपाललाई फिर्ता लगायतका राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषयहरुमा केन्द्रित रही हाम्रो पाटी नेतृत्व गर्दै आएको देशभक्तिपूर्ण आन्दोलनबाट विक्षिप्त भएका अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादका दलालहरूको पराजित मानसिकताबाट उब्जिएको आक्रोशको अभिव्यक्ति हो ।’