काठमाडौं – नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बन्नुभएको छ । गत बिहीबारदेखि जारी अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहलाई अध्यक्ष घोषणा गर्नुभएको हो । सम्मेलन चलिरहँदा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले अध्यक्ष चयनको जिम्मा प्रचण्डलाई दिएको थियो । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो हो ।

नेतृत्व चयनको विषयमा छलफल गर्न अखिल क्रान्तिकारीका नेताहरु आज बिहान प्रचण्ड निवास खुमलटार पुग्नुभएको थियो । सोही छलफलमा प्रचण्डले पञ्चालाई अध्यक्ष घोषणा गर्नुभएको हो । अब २२ औं राष्ट्रिय सम्मेलनको जारी बन्दसत्रबाट पञ्चा सिंह अखिल क्रान्तिकारी अध्यक्ष बनेको औपचारिक घोषणा हुने भएको छ ।