काठमाडौं – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलले सरकारले तथ्याङ्क सङ्कलनको कामलाई गम्भीरतापूर्वक अगाडि बढाइरहेको बताउनुभएको छ । उपाध्यक्ष पौडेलले मुलुकलाई सुशासनको बाटोबाट अगाडि बढाउन पनि सरकारले तथ्याङ्क सङ्कलनको कामलाई प्राथमिकताका साथ अगाडि बढाएको तर्क गर्नुभयो ।

नेपाल उद्योग परिसङ्घले आज काठमाडौंमा सार्वजनिक गरेको ‘इन्डष्ट्रि स्टाटस रिपोर्ट’ सार्वजनिक गर्दै उहाँले केन्द्रीय तथ्याङ्क विभागलाई पनि यथार्थमा आधारित तथ्याङ्क सङ्कलनको काममा जोड दिन सचेत गराउनुभयो । उहाँले भन्नुभयो, ‘तथ्याङ्कमा आधारित भएर शासन गर्नु नै सुशासन हो । हुकुमी शासनमा मात्रै तथ्याङ्कहरूको जरुरी पर्दैन । तथ्याङ्कमा आधारित भएर काम गर्नु भनेको राम्रो हो । म तथ्याङ्क विभागलाई पनि बल गरेर तथ्याङ्कको काम गर्न आग्रह गर्दछु ।’

कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतीश मोरले उद्योग व्यवसाय सञ्चालनका लागि विद्युत्मा लगाइएको महसुल दर घटाउन सरकारसँग माग गर्नुभयो । उहाँले विद्युत् महसुल घटाउने काम सरकारले गरे नेपालको निर्यात व्यापार समेत बढेर जाने स्पष्ट पार्नुभयो । अध्यक्ष मोरले विद्युत् महसुल सहुलियत दरमा सरकारले व्यवस्था गर्न नसक्दा नेपालले आयातित वस्तुमा निर्भर हुनुपर्ने अवस्था आएकोतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

नेपाल उद्योग परिसङ्घले औद्योगिक क्षेत्रको विकासका लागि सरकारले उद्योगधन्दाहरू सञ्चालनका लागि उपयुक्त वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै आएको छ । मुलुकको व्यापार घाटा कम गर्न र बेरोजगारी समस्या समाधान गर्न पनि सरकारले उद्योग व्यवसायमैत्री वातावरण निर्माणमा ढिलाइ गर्न नहुने अध्यक्ष मोरको भनाई थियो ।