काठमाडौं – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रूपान्तरण आवश्यक भएको बताउनुभएको छ । पार्टी कार्यक्रमका लागि तनहुँ पुग्नुभएका वरिष्ठ नेता पौडेलले आज पार्टी लोकतन्त्रको मर्ममा चल्न नसकेको भन्दै रूपान्तरण आवश्यक भएको औंल्याउनुभएको हो । ‘पार्टीमा पुस्तान्तरणको बहस भइरहेको छ । तर, हुनुपर्ने रूपान्तरणको हो,’ पौडेलले प्रश्न गर्नुभयो, ‘अहिलेको पार्टी सञ्चालन कसरी भइरहेको छ, यो अवस्थामा रूपान्तरण चाहिएको हो कि पुस्तान्तरण ?’

पौडेलले भन्नुभयो, ‘यदि पार्टीमा सबै सङ्गठनहरू परिचालन हुन सकेको भए, समयमा महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न सकेको भए, पार्टी विचारबाट सञ्चालन भएको भए, रूपान्तरणको आवश्यकता हुने थिएन ।’ ‘जव रूपान्तरण हुन्छ, तब पुस्तान्तरणको बहस नै आउँदैन । त्यसैले आजको आवश्यकता रूपान्तरण हो , युवा साथीहरू भ्रममा नबस्नुहोला ।’

उहाँले पार्टी सही बाटोमा हिँडेको भए पुस्तान्तरणको बहस नै आवश्यक हुने भन्दै पार्टीका नेताहरूले बहसलाई ठिक बाटोमा हिँडाउन सक्नुपर्ने बताउनुभयो ।