फाइल तस्वीर

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले जनहितका योजना अगाडि बढाउन जनप्रतिनिधिमूलक संस्थालाई सुझाव दिनुभएको छ । नागरिकको चाहनाअनुरुप उपलब्ध साधनस्रोतको पहिचान एवं परिचालनको सामाथ्र्य आँकलन गरी जनहितका योजना अघि बढाउनुपर्ने उहाँको भनाइ छ । जिल्ला समन्वय समिति महासङ्घ नेपालको तेस्रो राष्ट्रिय परिषद्को आज शुक्रबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको सर्वाङ्गीण रुपान्तरणका लागि भौतिकसँगै मानवीय विकासलाई पनि प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले भन्नुभयो–‘जनप्रतिनिधिमूलक संस्थाले शिक्षा, सचेतना, सामाजिक जागरण अभिवृद्धि गर्दै समतामूलक समाज निर्माणमा योगदान पु¥याउनुपर्छ ।’ दुई वर्षदेखि समग्र विश्वलाई आक्रान्त बनाइरहेको कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारमा स्थानीय तहले खेलेको भूमिकाको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘सङ्क्रमण अन्त्य भई नसकेको अवस्थामा जनताका गतिविधिलाई सहज तुल्याउन जनप्रतिनिधिलाई अपील र आह्वान गर्दछु ।’

जिल्ला समन्वय समिति महासङ्घकी अध्यक्ष सीता सुन्दासले आफ्नो नेतृत्वमा महासङ्घले जनहितका लागि गरेको विविध प्रयासबारे जानकारी दिनुभयो । कार्यक्रममा उपाध्यक्ष सन्तबहादुर तामाङले तीन तहका सरकारबीचका विकास निर्माण र सेवा प्रवाहलगायतका कामको अनुगमन, समन्वय र सहजीकरणको जिम्मेवारीमा सबै तहले आफूलाई स्थापित गर्ने प्रतिस्पर्धामा अग्रसर हुँदा महासङ्घलाई ओझेलमा पारेको गुनासो गर्नुभएको छ । जिल्ला समन्वय समितिलाई जिल्लामा सञ्चालन भएका सबैखाले योजनाको अनुगमन गर्ने निकायका रुपमा स्थापित गर्न आवश्यक रहेको उहाँको तर्क छ ।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोक व्याञ्जुले सङ्घ र प्रदेश सरकारको तुलनामा जनताका हितका खातिर स्थानीय तहले न्याय निरुपण, बजेट तर्जुमा, विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारी भूमिका खेलिरहेको दाबी गर्नुभयो ।यसैगरी गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले महासङ्घको जगका रुपमा रहेका स्थानीय तहले जनहितमा काम गर्ने सिलसिलामा कार्यक्षेत्रभित्र नपरेका र कानूनमा उल्लेख नभएका विषयमा पनि उत्कृष्ट कार्यसम्पादन गर्न सफल भएको बताउनुभएको छ । रासस