काठमाडौं – एमालेकोे विधान महाधिवेशन सुरु भएको छ । आजदेखि तीन दिनसम्म चल्ने एमालेको पहिलो महाधिवेशन ललितपुरको गोदावरीमा तामझामका साथ सुरु भएको छ । महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको छ ।

महाधिवेशनमा राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रस्तुत गरिने भएको छ । केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।

आजदेखि तीन दिनसम्म चल्ने महाधिवेशनमा पहिलो दिन प्रस्तुत गरिने तीन प्रतिवेदन एवं प्रस्तावमाथि महाधिवेशनको दोस्रो दिन समूहगत छलफल र समूह नेताबाट सुझावको प्रस्तुति गरिने एमालेले जनाएको छ । महाधिवेशनको अन्तिम दिन समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयलाई अध्यक्ष ओली, महासचिव पोखरेल र उपमहासचिव पौडेलले स्पष्ट पार्दै सार संक्षेपीकरण गर्ने कार्यसूची रहेको छ । विधान महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी भएका छन् ।

विधान महाधिवेशनमा पार्टीका केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्य, केन्द्रीय निकायका पदाधिकारी एवं सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । महाधिवेशन हलले सात सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । अध्यक्ष मण्डलमा केपी ओली, उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र स्थायी कमिटि सदस्यहरु रामबहादुर थापा बादल, सुवास नेम्वाङ, सत्यनारायाण मण्डल र छविलाल विश्वकर्मा रहनुभएको छ ।