बागलुङ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ठूला राजनीतिक दलले राजनीतिलाई व्यापार बनाएको आरोप लगाउनुभएको छ । आज शुक्रबार प्रतगिशील पत्रकार सङ्घ बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष केसीले व्यवस्था परिवर्तन भए पनि ठूला दलको प्रवृत्तिमा सुधार नआएको बताउनुभयो । उहाँले भन्नुभयो– ’ठूला दलको प्रवृत्ति सुध्रिएन । प्रवृत्ति नसुध्रिएका कारण राष्ट्रियता र गणतन्त्र धरापमा परेको छ ।’

’दलका रिसले राजतन्त्र मागिरहेका छन्, हामीले सङ्घर्ष गरी ल्याएको गणतन्त्रमा कसरी धावा बोलिँदैछ,’ उहाँले भन्नुभयो । दलहरू सत्ता बाहिर रहँदा राष्ट्रियता र गणतन्त्रको पहरेदार बन्ने र सत्तामा पुगेपछि आफू र आफ्नामा केन्द्रित हुँदा अहिलेको अवस्था आएको उहाँले बताउनुभयो ।

’संवैधानिक व्यवस्थाअनुसार नै अहिलेको सरकार बनेको हो । सरकारले ल्याएको अध्यादेश बाध्यताको उपज हो,’ उहाँले भन्नुभयो । अहिलेका पाँच दलीय गठबन्धन परिस्थितिको उपज भएको बताउँदै उहाँले गठबन्धन टिक्ने वा टुक्रिने परिस्थितिले नै निर्धारण गर्ने बताउनुभयो ।