काठमाडौं– नेपाली काङ्ग्रेसमा आगामी १४ महाधिवेशनको सन्दर्भमा क्रियाशील सदस्यता विवादलाई लिएर कुटाकुटको अवस्थामा पुगेको छ । प्रदेश दुईका संस्थापन पक्षीय एक मन्त्रीले कार्यकर्तामाथि हातपात गरेको भन्दै संस्थापनइतर पक्षले विरोध प्रर्दशन गरेको छ । काङ्ग्रेसबाट प्रदेश २ सरकारमा सहभागी महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहले सर्लाहीको बरहथवा नगरपालिका–४ का वडाध्यक्ष लाखिन्द्र महतोमाथि हातपात गर्दै तथानाम गालिगर्दै दुव्र्यवहार गरेका थिए । सर्लाही क्षेत्र नम्बर ४ को १ बाट प्रत्यक्ष निर्वाचित वीरेन्द्रप्रसाद सिंह प्रदेशसभा सदस्यसमेत हुन् । संस्थापन पक्षमा रहेका उनी गत जेठमा प्रदेश २ को सरकारमा काङ्ग्रेसको तर्फबाट मन्त्री भएका थिए ।

मङ्गलबार भएको हातपातको विरोधमा आज बिहीबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा संस्थापनइतर पक्षले वडाध्यक्ष लाखिन्द्र महतोमाथि भएको हातपात भएको घटनाप्रति विरोध जनाएको हो । कार्यकर्तामाथि नियोजित रुपमा आक्रमण गरिएको भन्दै नेताहरु प्रकाशमान सिंह, डा.शेखर कोइराला, अमरेशकुमार सिंहसहितका नेताहरुको उपस्थितिमा सर्लाहीकै कार्यकर्ताले मन्त्री सिंहविरुद्ध प्रदर्शन गरेका हुन् ।

सानेपा स्थिति पार्टी कार्यालयमा भएको विरोधसभालाई सम्बोधन गर्दै नेता डा. शेखर कोइरालाले नेताहरुले पार्टी कब्जा गर्न गुण्डागर्दी गरेको भन्दै ‘हरेक दिन क्रियाशीलको बारेमा बिहान एउटा, दिउँसो एउटा र साँझ अर्को निर्णय हुन्छ, ‘पार्टी कब्जा गर्न नेताहरुको जिल्ला–जिल्लामा गुण्डागर्दी गर्नुभएको छ’ भन्दै आक्रोश व्यक्त गरेका थिए । नेता कोइरालाले ‘यो प्रवृत्ति काङग्रेसका कार्यकर्तालाई स्वीकार्य हुँदैन‘ भन्दै ‘सभापतिको आफ्नै जिल्लामा प्रहरी लगाएर जिल्ला अविधेशन गरियो । काङ्ग्रेसको ७५ वर्षको इतिहासमा अहिलेसम्म पुलिस लगाएर अधिवेशन भएको थिएन, यो नेपाली काङ्ग्रेसको इतिहासमै नभएको घटना भएको छ’ भनेका छन् ।

नेता कोइरालाले मङ्गलबार सर्लाहीको बरहथवामा भएको घटना कुनै पनि हालतमा स्वीकार्य नभएको बताएका छन् । ‘अहिले जुन घटना भयो, त्यो काङ्ग्रेसका कार्यकर्तालाई कहिल्यै स्वीकार्य हुँदैन । यसले काङ्ग्रेसका जुझारु कार्यकर्तालाई फरक पार्दैन । त्यस्ता व्यक्ति जिल्ला–जिल्लाबाट परास्त हुनेछन्’, कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेता कोइरालाले भने ।

सोही विरोध कार्यक्रममा उपस्थित भएका अर्का नेता अमरेशकुमार सिंहले पार्टीमा ठेकेदार, गुण्डागर्दीको हालिमुहाली हुने अवस्था आएको दावी गर्दै ‘पार्टीमा इमानदार व्यक्तिलाई पाखा लगाउने काम हुँदैछ । गुण्डागर्दी ठेकेदारले कब्जा गर्ने अवस्था आउँदैछ’ भन्दै आक्रोश पोखेका छन् । विरोधसभालाई सम्बोधन गर्दै नेता कोइरालाले नेताहरुले पार्टी कब्जा गर्न गुण्डागर्दी गरिएको आरोप लगाएका छन् । कार्यकर्तामाथि नियोजित रुपमा आक्रमण गरिएको भन्दै प्रकाशमान सिंह, डा.शेखर कोइराला, अमरेशकुमार सिंहसहितका नेताहरुको उपस्थितिमा सर्लाहीकै कार्यकर्ताले मन्त्री सिंहविरुद्ध प्रदर्शन गरेका थिए ।