काठमाडौं – नेपालमा वायु प्रदूषण यसअघि आँकलन गरिएभन्दा पनि घातक देखिएको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले चेतावनी दिएको छ । डब्लुएचओले वायु प्रदूषणको प्रमुख कारकमध्ये एक नाइट्रोजन अक्साइड उच्च सुरक्षा तहको मापदण्ड घटाएको छ । डब्लुएचओका अनुसार वायु प्रदूषणका कारण विश्वभर हरेक वर्ष करिब ७० लाख मानिसको अकालमा मृत्यु हुने गरेको छ ।

वायु प्रदूषणबाट न्यून तथा न्यून मध्यम आय भएका देशका नागरिक बढी प्रभावित भएका छन् । आर्थिक विकासका लागि जीवाष्म इन्धनमा भर पर्नेको संख्या अधिक हुँदा प्रभाव बढी देखिएको हो । धूम्रपान र अस्वस्थकर खानपान सरह नै वायु प्रदूषण घातक रहेको डब्लुएचओले बताउँदै आएको छ । डब्लुएचओले आफ्ना १९४ सदस्य राष्ट्रलाई उत्सर्जन कम गर्न र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि प्रयास थाल्न आग्रह गरेको छ । आगामी नोभेम्बरमा हुने कोप २६ सम्मेलनअघि डब्लुएचओको यस्तो चेतावनी तथा आग्रह आएको हो ।

डब्लुएचओले हिजो बुधबार वायु प्रदूषण र स्वास्थ्यसम्बन्धी नयाँ निर्देशिका जारी गरेको छ । वायुमा हुने धूलोका मसिना कणहरु (पिएम २.५) लाई लिएर डब्लुएचओले निर्देशिका जारी गरेको हो । डब्लुएचओले भनेको छ, ‘अध्यावधिक गरिएको निर्देशिकामा भनिएअनुसारको तहमा वायु प्रदूषण कम हुने हो भने पिएम २.५ का कारण हुने करिब ८० प्रतिशत मृत्यु रोक्न सकिन्छ ।’

डब्लुएचओले पिएम १० भनिने अर्को प्रकारको मसिनो धूलोको कणको मात्रा पनि २५ प्रतिशतले कटौती गर्नुपर्ने उल्लेख गरेको छ ।ओजोन, नाइट्रोजन अक्साइड, सल्फर डाइक्साइड र कार्बन मोनोअक्साइडसहितका ग्यासको मात्रामा पनि कटौती गरिनु पर्ने सुझाव डब्लुएचओको छ । वायु प्रदूषणका कारण मुटुसम्बन्धी रोग तथा स्ट्रोकसहितका घटना बढेका छन्। बालबालिकामा वायु प्रदूषणले फोक्सोको विकासमा असर गर्ने र दमसहितका समस्या देखिन सक्छ ।