नेपालगञ्ज – संसदीय दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र प्रचण्डको चुनावपछि सेखी झर्ने बताउनुभएको छ । नेकपा एमाले, बाँकेले नेपालगञ्जमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले माधव नेपालको राजनीति सकिएको टिप्पणी गर्नुभयो । एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘रसुवामा एउटा बाटो छ । त्यहाँ गाई चर्दै गएपछि फर्किने ठाउँ छैन । माधव नेपाल त्यही बाटोमा हिँडिरहेका छन् । यिनको राजनीति फर्किंदैन ।’

ओलीले यही चुनावपछि प्रचण्डको सेखी झर्ने ठोकुवा गर्नुभयो ‘प्रचण्डले कहिलेकाहीँ राम्रो कुरा गर्छन् । अस्ति कता हो, दुई वर्षपछि म एक्लै हुन्छु कि क्या हो भनेछन्, ओलीले भन्नुभयो, धेरै भाग खान हिँडेका थिए । अब सकिन्छन् ।’ ओलीले माधव नेपाल र प्रचण्डको दिमागमा पद, मान, सम्मानमात्रै रहेको बताउनुभएको छ । ‘यिनीहरूले हिमालतिर हेर्दैनन्, खाली सिंहदरबारतिर मात्रै हेर्छन्, ओलीले भन्नुभयो । ओलीले माधव र प्रचण्डलाई शेरबहादुरवाद, नेकावाद, पिछलग्गुवाद लेख्न सुझाव समेत दिनुभयो । उहाँले, माधव नेपाल र प्रचण्डले शेरबहादुरवाद, नेकावाद, पिछलग्गुवाद लेख्नुपर्नेमा अझै माक्र्सवाद, लेनिनवाद, एकीकृत समाजवाद लेखिरहेका छन् भन्नुभयो ।’

पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले परमादेशबाट बनेको सरकारले केही गर्न नसक्ने बताउनुभएको छ । ‘यो सरकार त मुद्दा लडेर जाली किर्ते पाराले भनेको सरकार हो । पाँचदलीय गठबन्धनको यो सरकारले केही गर्नेवाला छैन, ओलीले थपे, गठबन्धनमा चन्द्रमुखी छन् । कोही कता फर्केका छन्, कोही कता फर्केका छन् ।’