फाइल तस्वीर

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्ना नेता–कार्यकर्ताको रिहाइ नभएको भन्दै सरकारमाथि आक्रोश पोखेको छ । आज पोखरामा अखिल (क्रान्तिकारी)को २२ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै गत २० फागनुमा सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयन नगरिएकोमा आक्रोश पोखेको हो । आफ्ना कार्यकर्ता रिहा हुनुपर्ने सहमति भए पनि त्यो कार्यान्वयन नभएकोमा महासचिव नेत्रविक्रम चन्द विप्लव रूष्ट बनेका हुन् ।

विप्लवले फेरि हिंसात्मक गतिविधि गर्ने सङ्केत गरेको छ । उनले सर्त लागु नगर्न हालिने सबै घेरा तोडिने चेतावनी दिएका छन् । उनले भने, ‘हामीले तीनबुँदे सहमति ग¥यौं । त्यो लागु नगरेर अरु कुनै शर्त थुपारिन्छ अनि हाम्रा जेलका साथीलाई छोड्न कुनै घेरा हालिन्छ भने त्यो तोड्दिन्छौँ । सहमति कार्यान्वयन नभएको हामीलाई स्वीकार्य छैन ।’

गत २० फागनुमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएको थियो । प्रतिबन्ध हटाउने, आफ्ना सबै नेता–कार्यकर्ता रिहा गर्ने र सबै मुद्दा फिर्ता हुने सहमति छ । उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित सबै शीर्ष नेतालाई भेटे पनि यो विषयमा चासो नदिइएको बताएका छन् । आफूहरूमाथि बिनाकारण प्रतिबन्ध लगाइएको विप्लवको भनाइ थियो । ‘कुनै ठूलो अपराध गरेका थिएनौँ प्रतिबन्ध लगाउनुपर्ने । त्यस्तो कुनै अपराध गरेका थियौँ ? नेपाली जनताको चाहना र नेपालको हितविपरीत कुनै काम गरेका थियौँ ?’ उनको प्रश्न थियो ।

विप्लवले नेपालमा जनमत संग्रह आवश्यक रहेको दोहो¥याए । जनमत सङ्ग्रह भए आफूहरूले चाहेको व्यवस्थाको पक्षमा बढी मत आउने उनको दाबी थियो । ‘हाम्रै केही साथीले जनमत संग्रह गरेर हुँदैन भन्नुभयो । नेपालमा जनमत संग्रह ल्यायौँ । हामीले जित्छौँ । सतप्रतिशत जित्छौँ,’ उनले भने, ‘नेपाली जनताले यो दलालहरूलाई सहन्छन् ? परिवर्तन चाहन्छन् । त्यसैले यो ल्याउनुपर्छ ।’

उनले आफूहरूसँग हातहतियार नरहेको दाबी गरे । जनताको घरमा बसेर लड्नेसँग बन्दुक नहुने उनले बताए । शहीद र बेपत्ताको परिवारले आफूहरूलाई परिवर्तनको आन्दोलनमा लागिरहन हौसला मिलेको विप्लवले बताए । उनी राजनीतिक दलका नेतामाथि पनि कडा प्रस्तुत भए । उनले भने – ‘वर्षौं राज गरेका राजाको अलिकति पैसा हुनु ठीकै हो । सत्तामा दुई वर्ष भएको छैन, खर्बपति हुने मान्छे जनताका मान्छे हुन् ? विदेशी बैंकमा पैसा लुकाएर एक पैसा छैन भन्ने हाम्रा नेता हुन सक्छन् ?’