काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ । नेकपा (एकीकृत समाजवादी) पार्टीको हिजो मङ्गलबारबाट सुरु भएको केन्द्रिय कमिटि बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन पाँचवटा समुह बनाइ समुहगत छलफलको निष्कर्ष आज बुधवारको बैठकमा समुह नेताले सुझावसहित प्रस्तुत गरेको र सो प्रतिवेदन महत्वपूर्ण सुझावहरुलाई समेटी पारित गरिएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो । समुह नं. १ बाट रामकुमार झाँक्री, समुह नं. २ बाट रामचन्द्र शाह, ३ बाट रमा आले, ४ बाट श्रीप्रसाद साह र ५ बाट दिनेश राईले राजनीतिक प्रतिवेदनमाथि आफ्नो समुहले गरेको छलफलको निष्कर्ष प्रस्तुत गरेको उहाँले जानकारी दिनुभयो ।

बैठकमा जनताको बहुदलीय जनवादको सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ दिदै अध्यक्ष माधवकुमार नेपालले जबजको सारभुत विचारलाई पक्रदै समाजवाद र समृद्धिको यात्रामा जाने कुरा बताउनुभएको प्रचार विभाव प्रमुख खतिवडाले जानकारी दिनुभयो । आफुहरु तत्कालीन एमालेले जस्तो जबजलाई देवत्वकरण अथवा जबजको विकृतिको पक्षमा नरहको भन्दै त्यसबाट मुक्त हुन चाहेको अध्यक्ष नेपालले बैठकमा बताएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘जनताको बहुदलीय जनवादको सन्दर्भमा उठेका प्रश्नहरुको बारेमा उहाँले प्रष्टिकरण दिदैँ भन्नुभएको छ की, जनताको बहुदलीय जनवाद पनि माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकासको सन्दर्भमा देखापरेको त्यसको सिर्जनात्मक अध्याय हो । यसलाई हामीले थप विकसित गर्नेछौँ । आजभन्दा अगाडी नेकपा(एमाले)ले जबजलाई कुरुप गर्दै गएको थियो ।

त्यसलाई बिरुप बनाउँदै गएको थियो । या त यसलाई देवत्वकरण गर्ने र जबजलाई बेद, पुराणजस्तो कहिल्यै परिवर्तन हुन नसक्ने बनाउँदै लगिएको थियो । या त यसलाई यति विकृत बनाइएको थियो कि जबजका आदर्श भनेकै आजका व्यवहारहरु नै जबजको आदर्श हुन् भने जबजको पनि काम छैन भन्ने ठाउँमा पुर्याउन लागिएको थियो । हामी त्यसबाट मुक्त हुन चाहान्छौँ । जबजका सारभुत विचारहरुलाई पक्रदै समाजवाद र समृद्धिको यात्रामा जाने हामीले अठोट गरेका छौँ यो कुरालाई उहाँले अत्यन्तै प्रष्ट पार्नुभयो ।’

बैठकले समाजवाद नामक पार्टीको मुखपत्र र नियमित बुलेटिन प्रकाशित गर्ने निर्णय पनि गरेको छ । त्यस्तै नेताहरु मार्फत् पार्टीको चुनावचिन्हको सन्दर्भमा विभिन्न सुझावहरु आएको भन्दै पार्टीको चुनावचिन्ह निश्चित गरी निर्वाचन आयोग जाने निर्णय गरिएको पनि विभाग प्रमुख खतिवडाले जानकारी दिनुभयो । पार्टी केन्द्रीय कमिटी बैठक भोली (बिहीवार) बिहान ११ बजे पनि बस्ने र भोलीको बैठकले पार्टीको महासचिव चयन गर्ने, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरुको अन्तिम टुङ्गो लगाइने पनि उहाँले बताउनुभयो ।