काठमाडौं – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले डायलासिस, किड्नी र क्यान्सरजस्ता रोगहरूको उपचारका लागि समयमै व्यवस्थापन गर्न नसके ठूलो महामारी व्यहोर्नुपर्ने बताउनुभएको छ । आज बुधबार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा राज्यमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो ।

उहाँले नेपालमा प्रत्येक वर्ष ३ हजार मानिसको किड्नी फेल भएको विवरण आइरहेको र पाँच वटा मात्रै उपचार गर्ने अस्पताल भएकाले किड्नी ट्रान्सप्लान्ट गर्न पनि २ वर्षसम्म कुर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । डाइलासिस गर्न आवश्यक्ताअनुसार सर्भिस सेन्टर नपुगेको श्रेष्ठले बताउनुभयो । उहाँले जिल्लादेखि प्रदेशसम्म डायलासिस सेन्टर बनाएर सर्वसुलभ बनाउनुपर्ने बताउनुभएको छ । सरकारले कम्तिमा २०० देखि ३०० वटा डाएलासिस सेन्टर निर्माण गर्ने योजना बनाएको उहाँको भनाइ छ ।

सरकारी अस्पताललाई अब पनि सुधार गर्न नसके ठूलो दुर्घटना हुने उहाँको टिप्पणी थियो । अप्रेशन गर्नका लागि दुई वर्ष कुर्नुपर्ने बाध्यता रहेको बताउँदै राज्यमन्त्री श्रेष्ठले सरकार अप्रेशन सेन्टर बढाउने योजनामा रहेको पनि जानकारी दिनुभयो । ट्रान्सप्लान्ट र डायलासिसमा ६ महिनाभित्र ठूलो परिवर्तन हुने उहाँको दाबी छ ।

‘किड्नी र क्यान्सर जस्ता रोगहरूको उपचारका लागि समयमै व्यवस्थापन गर्न नसके ठूलो महामारी व्यहोर्नुपर्छ, नेपालमा प्रत्येक वर्ष ३ हजार मानिसको किड्नी फेल भएको विवरण आइरहेको छ, यो ठ्याक्कै नहोला, मैले सोध्दा लगभ यतिकै हाराहारीमा छ,’ उहाँले भन्नुभयो, ’अप्रेशन गर्नको लागि ५ वटा अस्पताल छन् । जसमा तीन वटा सरकारी छन् । किड्नी ट्रान्सप्लान्ट गर्नका लागि पनि २ वर्षसम्म कुर्नुपर्ने बाध्यता छ । यसलाई सकेसम्म कम गर्नुपर्छ ।’

श्रेष्ठले अगाडि भन्नुभयो, ’सरकारी अस्पताललाई अब पनि सुधार गर्न नसके ठूलो दुर्घटना हुन्छ । त्यसैले हामीले ६ महिना, एक वर्षभित्र अप्रेशन गर्नका लागि दुई वर्ष कुर्नुपर्ने बाध्यता हटाउँछौँ । आवश्यक संरचनाहरू थप्नेछौँ । ६ महिनाभित्र ट्रान्सप्लान्ट र डायलासिसमा ठूलो परिवर्तन हुनेछ ।’ श्रेष्ठले अहिलेसम्म नेपाललाई १ करोड ७७ लाख कोरोनाविरुद्धको खोप प्राप्त भएको बताउनुभयो । ३ करोड ५९ लाख खोप आउने प्रबन्ध मिलाएको र आउने क्रममा रहेको उहाँको भनाइ छ । अहिलेसम्म ५६ लाख मानिसलाई पूर्ण खोप लगाइसकेको र ६२ लाख मानिसलाई पहिलो डोज लगाएको उहाँले जानकारी दिनुभयो ।

राज्यमन्त्री श्रेष्ठले जम्मा जनसंख्याको १८ प्रतिशतभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाइसकेको दाबी गर्नुभयो । उहाँले दसैँसम्म एक करोड ४० लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाउने योजना रहेको बताउँदै दसैँसम्म पहिलो डोज लगाउनेको संख्या १ करोड पु¥याउने सरकारको लक्ष्य रहेको बताउनुभयो । श्रेष्ठले अहिले स्वास्थ्यमा सबैभन्दा ठूलो खतरा बीमाबाट रहेको भन्दै बीमा व्यवस्थित गर्न जरुरी रहेको बताउनुभयो । बीमा गरेकाहरूले वर्षमा एक पटक स्वास्थ्य परीक्षण गरे स्वास्थ्य समस्या कम हुने उहाँको भनाइ छ । उहाँले राज्यको पैसाको स्वास्थ्य क्षेत्रमा दुरुपयोग भएको भन्दै म्यानेजमेन्टलाई व्यवस्थापन गरेर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।