काठमाडौं – नेकपा (एकीकृत समाजवादी पार्टी) का अध्यक्ष माधवकुमार नेपालले बाध्य भएर एमाले अध्यक्ष केपी ओलीसँग विद्रोह गर्नुपरेको बताउनुभएको छ । उहाँले केपी ओली एमालेको नवौँ महाधिवेशनपछि पार्टीको सिद्धान्त र विचार छाडेर दक्षिणपन्थी भासमा भासिन पुगेपछि कम्युनिस्ट क्रान्तिकारी धारको निरन्तरताका लागि नयाँ पार्टी बनाएको बताउनुभयो ।

आजबाट काठमाडौंमा सुरु भएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टी कम्युनिस्ट क्रान्तिकारी धारको निरन्तरता भएको बताउनुभयो । उहाँले विद्रोह गरेर जन्मिएको पार्टीले मात्र जनताको विश्वास जित्न सक्ने भन्दै आफ्नो नेतृत्वको पार्टीले जनताको विश्वास जितेरै छाड्ने जिकिर गर्नुभयो ।

‘कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी धारको निरन्तरता हो यो । विगतमा भएका कतिपय कमजोरीबाट हामी मुक्त हुन चाहन्छांै । नराम्रा कुराहरूलाई पन्छाउन चाहन्छांै’, नेता नेपालले भन्नुभयो, ‘देश, जनता र युवाको आवश्यकता तथा चाहाना अनुसार परिवर्तन गरेर हामी अघि बढ्न चाहन्छौं ।’ उहाँले आफ्नो पार्टी यथास्थितिवादी नभई परिवर्तनकारी हुने दावी समेत गर्नुभयो । ‘हामी यथास्थितिवादी होइन, परिवर्तनकारी शक्तिको धारका रूपमा उभिन चाहन्छांै’ अध्यक्ष नेपालले भन्नुभयो – ‘व्यक्तिवाद, गुटवाद, एकाधिकार, हुकुमी प्रवृत्तिका विरुद्ध सामूहिकताको भावनामा अघि बढिन चाहन्छौं ।’