काठमाडौं – नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले पार्टीको अबको लक्ष्य आगामी तीनै तहको निर्वाचन जित्ने रहेको बताउनुभएको छ । उहाँले काङ्ग्रेसले तीनै तहको निर्वाचन जित्न पार्टीको आगामी १४ औँ महाधिवेशनको ठूलो भूमिका रहने उल्लेख गर्नुभएको हो ।

नेपाली काङ्ग्रेसद्वारा आयोजित काठमाडौं महानगरपालिकाको ४ र ५ द्वारा आयोजित छुट्टाछुट्टै वडा अधिवेशनको उद्घाटन समारोहमा सहमहामन्त्री महतले काङ्ग्रेसको मुख्य लक्ष्य नै आगामी आम निर्वाचन जित्ने रहेको स्पष्ट पार्नुभयो । निर्वाचन जित्ने ढङ्गले सङ्गठन निर्माणमा लाग्नुपर्नेमा जोड दिँदै उहाँले त्यसमा क्रियाशील सदस्यको अहम भूमिका रहने बताउनुभयो । उहाँले पार्टीको आदर्श, सिद्धान्त, नीति र अनुशासनमा रही निरन्तर क्रियाशील रहन सबैमा आग्रह गर्नुभयो ।

“पार्टीमा समय दिनसक्ने, सङ्गठन विस्तार गर्नसक्ने र मतदातालाई आकर्षित गर्नसक्ने कार्यकर्ताको खाँचो छ, सक्रिय सदस्य बन्नुभएका पार्टी कार्यकर्तालाई वडादेखि राष्ट्रिय तहसम्म पार्टीले सुम्पिएका जिम्मेवारी पूरा गरी पार्टीलाई जनतासँग जोड्ने प्रयासमा लाग्नुस्”, नेता महतले भन्नुभयो । काङ्ग्रेसको नेतृत्वमा बनेको वर्तमान संविधानको भावना र मर्मअनुरुप एक तिहाइ स्थानमा महिला निर्वाचित गर्ने कामको थालनी भएको उहाँको भनाइ थियो ।

दुई तिहाइको सरकार राज्य सञ्चालनमा असफल भएपछि अप्ठ्यारो अवस्थामा काङ्ग्रेसको नेतृत्वमा संयुक्त सरकार बनेको स्पष्ट पार्दै नेता महतले प्रतिकूलतासँग जुध्दै सरकार सम्पूर्ण नागरिकलाई खोप दिएर सुरक्षाको प्रत्याभूति दिलाउन लागि परेको बताउनुभयो । उहाँले काङ्ग्रेसका संस्थापक नेता बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले सोचेजस्तो नेपाली जनताको सेवा गर्दै समृद्ध र स्वाभिमानी बनाउने जिम्मेवारी पूरा गर्न पार्टीको १४ औँ आसन्न महाधिवेशनले महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।