काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्नुभएको थियो । तर उहाँको प्रस्तावको सैद्धान्तिक छलफलमा सांसदहरूले भाग लिएनन् । विनियोजन विधेयक, २०७८ राष्ट्रियसभामा स्वीकृत भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले बैठक अवरुद्ध गरेका छन् । बैठकको सुरुवातमै उठेर अवरोध गरे पनि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनीहरूको अवरोधलाई बेवास्ता गर्दै बैठकको काम–कारबाही अघि बढाउनुभयो ।
विनियोजन विधेयक, २०७८ स्वीकृत गरियोस् भन्दै अर्थमन्त्री शर्माले राखेको प्रस्तावलाई सत्तापक्षका सांसदहरूले समथर्न गरे भने प्रतिपक्षी दल एमालेका सांसदले उठेर विरोध मात्र जनाएका थिए । त्यसैले अध्यक्ष तिमिल्सिनाले प्रस्ताव बहुमतबाट स्वीकृत भएको घोषणा गर्नुभएको हो ।

अध्यक्ष तिमिल्सिनाले आउँदो आगामी बिहीबार दिउँसोका लागि विधेयकमाथिको दफाबार छलफलका लागि समय तोक्नुभएको छ । योसँगै राष्ट्रियसभा बैठक यही असोज ७ गते बिहीबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।