कास्की – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सभामुख अग्निप्रसाद सापकोटालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको इशारामा चलेको आरोप लगाउनुभएको छ । आज पोखरामा आयोजित कार्यक्रममा उहाँले प्रचण्डकै इशारामा सभामुखले एमालेले गरेको १४ सांसदको कारबाहीलाई मान्यता नदिएको बताउनुभयो ।

एमालेका सांसद बास्कोटाले भन्नुभयो– ‘सभामुखले हुँदै नभएको प्रचण्ड धारा प्रयोग गरेर कारबाही गर्न मिल्दैन भन्नुभयो, ‘नमिल्ने भनेर कहाँ लेखेको छ ? प्रतिनिधिसभा नियमावलीमा छ ? कि कुन धारामा छ ?’

सांसद बास्कोटाले सभामुख सापकोटा आफ्नो मर्यादामा नबसेका कारण आफूहरुले संसद अवरुद्ध गरिरहेको बताउनुभएको छ । सभामुखले जनता समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारबाही गर्दा एकै घण्टामा र माओवादी केन्द्रले टोपबहादुर रायमाझी लगायत ४ सांसदलाई कारबाही गर्दा ४८ घण्टाभित्र सूचना जारी गरेको बास्कोटाले उल्लेख गर्नुभयो । ‘एमालेको निर्णय मात्र अवज्ञा गर्नुपर्ने कहाँ लेखेको छ ? सभामुख न्यायाधीश हो ? सभामुख फैसलाकर्ता हो ?’ एमालेका सांसद बास्कोटाले सभामुखले कि आफ्नो निर्णय सच्याउनुपर्ने कि त, पद नै छोड्नुपर्ने बताउनुभएको छ ।