काठमाडौं – सत्ता गठबन्धन दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज बस्न लागेको छ । नयाँ पार्टी गठन भएपछि पहिलो पटक पार्टीको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । माधवकुमार नेपालको नेतृत्वमा एमाले छोडेर एकीकृत समाजवादी पार्टी गठन भएको थियो । बैठकमा १ सय १३ केन्द्रीय सदस्यको सहभागिता हुनेछ । बैठकले केही नेताको विभाग हेरफेर गर्ने र केही नेतालाई नयाँ जिम्मेवारी दिने निर्णय पनि गर्ने स्रोतले जनाएको छ ।

आज र भोलीगरी दुई दिनसम्म बस्ने बैठकमा पार्टीको सङ्गठन विस्तार, भावी कार्यक्रम र पार्टीको आगामी रणनीतिका साथै देशको समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुनेछ । बैठकमा पार्टीको संरचनागत विभागदेखि जनवर्गीय सङ्गठन, पार्टी सङ्गठनको विस्तार, पार्टी सुदृढीकरण जस्ता विषयमा व्यापक छलफल हुने छ । त्यसैगरी सरकारमा सहभागिता हुनेकुरा, सरकारलाई सफल बनाउने विषयमा समेत छलफल हुने भएको छ ।

बैठकमा सरकारलाई सफल बनाउन पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, सरकारमा सहभागिताको विषय, राजनीतिक सङ्गठन प्रबद्र्धनका लागि राष्ट्रियस्तरमा के कसरी अभियान सञ्चालन गर्ने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ । नयाँ गठन भएको ए.स. पार्टीले अहिलेसम्म ५५ वटा जिल्लामा कार्यसमिति गठन गरिसकेकोे छ । सङ्गठन विस्तारका लागि सदस्यता वितरणको तयारीमा सो पार्टी रहेको छ । पार्टीको सङ्गठन विस्तारका लागि वितरण गरिने सदस्यताको फारम अनलाइनबाट उपलब्ध गराइने छ । बामपन्थी पृष्ठभूमि भएका पार्टी सदस्यता लिन चाहने नेतालाई पुरानै सदस्यता कायम गर्ने एसले जनाएको छ ।