काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज काठमाडौंमा बस्दैछ । करिब एक महिना अघि नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट अलगिएर नेता माधवकुमार नेपालको नेतृत्वमा स्थापना भएको एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक पहिलो पटक बस्न लागेको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, देशभर सङ्गठन विस्तारका लागि आवश्यक रणनीतिमा छलफल गरिने केन्द्रीय सदस्य दिलुकुमारी पन्तले जानकारी दिनुभएको छ । सो बैठकमा पार्टीका विभिन्न विभाग, जनवर्गीय सङ्गठन, सम्बन्धित आयोगका गठन, पुनर्गठन, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक छलफल गरिने बताइएको छ ।

बैठकमा सरकारलाई सफल बनाउन पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, सरकारमा सहभागिताको विषय, राजनीतिक सङ्गठन प्रबद्र्धनका लागि राष्ट्रियस्तरमा के कसरी अभियान सञ्चालन गर्ने भन्ने विषयमासमेत छलफल हुनेछ । बैठकले केही नेताको विभाग हेरफेर गर्ने केही नेतालाई नयाँ जिम्मेवारी तोक्न सक्नेछ । बैठकमा ११३ केन्द्रीय सदस्यको सहभागिता हुनेछ । पार्टीले हालसम्म देशका ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ ।

सङ्गठन विस्तारका लागि सदस्यता वितरणको तयारीमा सो पार्टी रहेको छ । पार्टीको सङ्गठन विस्तारका लागि सदस्यता वितरणको तयारीमा रहेको एकीकृत समाजवादी पार्टीले सदस्यताको फारम अनलाइनबाट उपलब्ध गराइने भएको छ । वामपन्थी पृष्ठभूमि भएका र पार्टी सदस्यता लिन चाहने नेताहरुका लागि पुरानै सदस्यता कायम गरिएको छ ।