काठमाडौं – नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज ७ जिल्लामा वडा अधिवेशन हुँदैछ । आज अधिवेशन हुने जिल्लाहरुमा काठमाडौं, मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बर्दिया, कपिलवस्तु र बाजुरा रहेका छन् । केन्द्रीय निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठका अनुसार ७ जिल्लाका निर्वाचन अधिकृतहरुले वडा अधिवेशन आजै सम्पन्न गर्ने आफूहरुलाई रिर्पोटिङ गरेको जानकारी दिनुभयो । “आज ७ जिल्लाको वडा अधिवेशन हामी सक्छौं,” उहाँले भन्नुभयो । यसअघि काङ्ग्रेसले ५६ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ ।

पार्टीसभापति शेरवहादुर देउवाको गृह जिल्ला डडेलधुराको भने वडा अधिवेशन विवादित बनेको छ । समिति सचिव श्रेष्ठका अनुसार अझै १३ जिल्लामा वडा अधिवेशन सुरु हुन सकेको छैन । क्रियाशील सदस्यता विवाद समाधान समितिले क्रियाशील सदस्यहरुको सूची दिन नसक्दा १३ जिल्लाको अधिवेशन अनिश्चित बनेको हो ।

क्रियाशील सदस्यता विवाद समाधान समितिले आइतबार धनुषा र कैलालीका विवादित स्थानहरुको क्रियाशील सदस्यता मिलाउने काम सकिएको बताइएको छ । तर, यी दुई जिल्लाको क्रियाशील सदस्यता सूची केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गरिएको छैन । बाँकी रहेका १३ मध्ये ११ जिल्लामा पनि विवाद मिल्यो भन्दै आइतबार नै प्रचारवाजी भएको थियो ।

क्रियाशील सदस्यता छानबिन समिति एक सदस्यका अनुसार सप्तरी, बारा, रौतहट, रसुवा, बाँके र डोल्पाको क्रियाशील सदस्यता विवाद अझै मिलेको छैन । रसुवामा संस्थापन पक्षले नयाँ शक्तिबाट आएकाहरुलाई क्रियाशील मान्नै अस्वीकार गरिरहेका कारण समस्या भएको छ भने रौतहटमा विवाद छ । यद्यपि संस्थापनले यसलाई स्वीकार गरेको छैन ।

बाँकेमा विवाद मिलिसक्यो भने पनि विवाद समाधानका लागि निर्णय नै गर्न सकेको छैन भने डोल्पामा संस्थापन कमजोर भएका कारण विभिन्न पार्टीका नाममा समायोजन समितिले गरेको निर्णय विपरीत सदस्यता थपिएका कारण समस्या आएको छ । बाराका दुई, सप्तरीका तीन निर्वाचन क्षेत्रमा नयाँ क्रियाशील सदस्यलाई १४ औं महाधिवेशनपछि मात्र मान्यता दिने निर्णय भइसकेको छ । त्यो निर्णयमा कसैको पनि विमति छैन । तर, पुराना भन्दै नयाँ सदस्यहरुलाई नवीकरण सूचीमा राख्न संस्थापन नै लागेपछि सहमति हुन सकेको छैन ।