काठमाडौं – एमाले महासचिव ईश्वर पोखरेलले पार्टीबाट माधव नेपाल समूह बाहिरिए पनि सङ्गठनात्मक अराजकता र गुटबन्दीको स्वतः अन्त्य नहुने निष्कर्ष निकाल्नुभएको छ । आगामी असोज १५ देखि १७ गतेसम्म हुने प्रथम विधान महाधिवेशनका लागि तयार पारिएको सङ्गठनात्मक प्रस्ताव मस्यौदामा महासचिव पोखरेलले उक्त कुराको निष्कर्ष निकाल्नुभएको हो ।

महासचिव पोखरेलले ५३ पृष्ठ लामो प्रतिवेदनमा माओवादी केन्द्रसँगको एकतापछि पार्टीभित्र सङ्गठनात्मक अराजकता देखा परेको उल्लेख गर्नुभएको छ । पोखरेलले भन्नुभयो– ‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा रहेको रहेको व्यक्ति केन्द्रित अवसरवाद र उनको नेतृत्वमा माओवादी आन्दोलनमा रहेको व्यक्ति केन्द्रित अवसरवाद र उहाँको नेतृत्वमा माओवादी आन्दोलनमा हुर्किएको सङ्गठनात्मक अराजकता नेकपा एमालेभित्रको समूह बन्दीमा अन्तर्घुलन हुने र पार्टी र आन्दोलन नै सङ्कटमा पर्ने अवस्था सिर्जना भयो ।’

परिवर्तित राजनीतिक व्यवस्थाको कारण देखाउँदै उहाँले १० बुँदे सहमति कार्यान्वयनमा समस्या हुने समेत बताउनुभएको छ । ‘१० बुँदे सहमति कार्यान्वयनपछि पार्टीमा क्रियाशील रहेका कार्यकर्ताको व्यवस्थापनमा प्रक्रियागत जटिलता थपिएको छ,’ उहाँले भन्नुभएको छ, ‘जेठ २ को पूर्वअवस्थाको मान्यताले संविधानसभाको समयमा तयार भएको वैधानिक व्यवस्था यथावत रहने परिस्थिति सिर्जना भएको छ ।’

‘पार्टीमा तीन कार्यकालभन्दा लामो समयसम्म एकल र शक्ति सम्पन्न कार्यकारी अधिकारसहितको महासचिवको भूमिकामा कार्यरत रहेका माधवकुमार नेपाललाई अध्यक्षको उत्पन्न गतिरोध र समस्याबाट हामी सबैले गहन पाठ सिक्नु आवश्यक छ,’ सङ्गठनात्मक प्रतिवेदनमा भनिएको छ, ‘सत्तरी वर्षको उमेर हदलाई सत्तरी वर्ष पुरा नहुँदासम्म उम्मेदवार हुन पाउने र कार्यकाल पूरा नहुँदासम्म जिम्मेवारीमा रहन पाउने स्पष्ट व्यवस्था गरी त्यसलाई यथावत् राख्नु उपयुक्त हुन्छ ।’ विगतमा जस्तो दुई कार्यकाल भन्दा बढी एकल नेतृत्वमा रही काम गरिसकेको व्यक्तिलाई पुनः अध्यक्ष वा मुख्य कार्यकारी पदमा उठ्ने अनुमति दिन नहुने प्रस्ताव पोखरेलको छ ।