काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने प्रतिवेदनमाथि छलफल गरेको छ । आज पार्टी कार्यालयमा बसेको स्थायी कमिटीको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको तीन प्रतिवेदनमाथि छलफल गरेको हो ।

बैठकपछि नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले स्थायी कमिटीका सदस्यहरुले विधान संसोधन सम्बन्धी प्रस्ताव, सङ्गठन सम्बन्धी प्रस्ताव, साथै राजनीतिक प्रतिवेदन सम्बन्धी प्रस्तावमा सुझाव दिएको बताउनुभयो । उहाँले स्थायी कमिटीले दिएका सुझावहरुलाई समेटेर आगामी शुक्रबार र शनिबार अर्थात् असोज ८ र ९ गते बस्ने केन्द्रिय कमिटीको बैठकमा राखिने र केन्द्रिय कमिटीमा आएका सुझावहरुलाई समेटेर असोज १५, १६ र १७ गते विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । बैठकले सबै पदाधिकारीहरु हलबाट प्रत्यक्ष निर्वाचित गर्ने प्रस्ताव गरेको पनि उहाँले बताउनुभएको छ ।

प्रचार विभाग प्रमुख भट्टराईले भन्नुभयो, ‘पार्टीले आयोजना गरेको विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने तीनवटा प्रतिवेदनमाथि छलफल गरेको छ । स्थायी कमिटीका सदस्य कमरेडहरुले प्रतिवेदनमाथि आफ्ना गहन सुझावहरु दिनुभएको छ । विधान संसोधन सम्बन्धी प्रस्ताव,सङ्गठन सम्बन्धी प्रस्ताव,साथै राजनीतिक प्रतिवेदन सम्बन्धी प्रस्ताव तीन वटै प्रस्तावमा स्थायी कमिटीका कमरेडहरुको सुझावहरु प्रस्तुत भएका छन् । यीनै सुझावहरुलाई समेटेर यी प्रतिवेदनहरु आगामी ८ र ९ गते केन्द्रिय कमिटीको बैठक आयोजना हुँदैछ,त्यो बैठकमा प्रस्तुत गरिन्छ,त्यो बैठकमा केन्द्रिय कमिटीका साथीहरुको सुझाव लिएपछि ति सुझावहरुलाई समावेश गरेर असोजको १५,१६ र १७ गते विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने गरी प्रतिवेदनहरु स्थायी कमिटीबाट अगाडि बढाइएको छ ।’

विभाग प्रमुख भट्टराईले अब विधान राष्ट्रिय महाधिवेशनको तयारीमा लाग्ने बताउनुभयो । उहाँले अबको काम भनेको प्रतिनिधिहरुको नामावली तयार गर्ने, व्यवस्थापन लगायतका काममा केन्द्रित भएर विधान राष्ट्रिय महाधिवेशनलाई भव्यताका साथ लागि पर्नेमा जोड दिने रहेको बताउनुभयो ।