काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसद विरुद्ध एमालेले सर्वोच्च अदालतमा दर्ता गरेको रिटमाथिकोे बहस हेर्दाहेर्दैमा टुङ्गिएको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको मुद्दामा बहस नसिकएपछि भोलि पनि सुनुवाइ हुने गरी हेर्दाहेर्दैमा टुङ्गिएको हो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार बहस नसकिएका कारण भोलि पनि सुनुवाइले निरन्तरता पाउने भएको छ ।

पार्टीका तात्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

एमाले अध्यक्ष ओलीले १४ जना सांसदलाई पार्टीले कारबाही गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सांसद पद निलम्बन गर्नु पर्नेमा नगरेको भन्दै सभामुख विरूद्ध समेत रिट दायर भएको छ । आफ्नो पार्टीले कारवाही गरेका १४ जना सांसदलाई कारवाही नगरी एमाले पार्टी विभाजन गर्न सभामुखले भूमिका खेल्नुभएको भन्दै एमालेले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध गर्दै आएको छ । एमालेका सांसदहरुले प्रतिनिधिसभा बैठकमा चर्को नारावाजी गर्दै सभामुख सापकोटाको टाउको फुटाउने भन्दै रोष्ट्रममा समेत पुगेका थिए ।