काठमाडौं – राष्ट्रिय शक्ति नेपालका संयोजक केशरबहादुर विष्टले अहिलेको संविधानले देश र जनतालाई जुटाउनेभन्दा पनि फुटाउने काम गरेको बताउनुभएको छ । अहिलेको संविधान नफ्याँकेसम्म देश नबन्ने बताउनुभएको हो । आज ललितपुरको मङ्गलबजारमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै विष्टले उक्त कुरा बताउनुभएको हो ।
उहाँले ‘यो संविधानले नेपाललाई यो नेवार, यो क्षेत्री, यो लिम्बु, यो दलित, यो पूर्वीय, यो पश्चिमा भनेर देशलाई बाँडेको छ । त्यसकारण यो संविधानलाई फ्याँक्नु पर्छ भन्ने हो भन्नुभएको छ । संविधान भनेको सबैलाई एक गराउने हुनुपर्छ । यो संिवधानले दाजुभाइ, जनता तोडेको छ । जोडेको छैन ।’

नेपालीहरु सुतिरहेका बेला रातारात जालझेल गरेर देशमा राजा हटाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालीहरु सुतिरहेका बेला रातारात झेल गरेर राजा हटाइयो । हिजो बेलुकी सुतेका नेपालीले अत्तोपत्तो नपाइकन भोलि बिहान देशमा राजा हटिसकेको, सङ्घीयता आइसकेको, धर्म मासिसकेको अवस्था देख्नुप¥यो ।’

राजा नहुँदा देश पागलखानाजस्तो भएको उहाँको टिप्पणी छ । उहाँले भन्नुभयो, ‘यो देश पागलखाना भो । राजा कमजोर हुँदा, राजा नभएपछि यस्तो हुन्छ । जब–जब राजा पछिपरेका छन्, देशले ठूलो–ठूलो कुरा गुमाएको छ । राजाले र राजसंस्थाले देश जुटाउने र बलियो पार्ने मात्रै काम गरेको छ । मास्ने काम गरेको छैन ।’

राजसंस्था पुनःस्थापना तथा धर्मनिरपेक्षता र सङ्घीयता खारेज नभएसम्म देश नबन्ने उहाँको दावी थियो । अहिलेकै नेताहरुले संविधानमाथि खेलबाड गरेको उहाँको आरोप छ । उहाँले देश बेइमानहरुको हात फेलापरेको बताउनुभएको छ ।