काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अब छिट्टै पूर्णता पाउने भएको छ । सत्ता गठबन्धन दलहरुबीच मन्त्रालयको भागबण्डामा कुरा मिलेपछि सरकारले पूर्णता पाउन लागेको हो ।


सरकार गठन भएको दुई महिना वितिसक्दा पनि सरकारले पूर्णता पाउन नसक्दा सरकारले अपेक्षाकृत रुपमा काम गर्न नसक्दा विश्वसनीयता गुम्दै गएको थियो । दलहरुबीच मन्त्रालय भागभण्डाको विषयमा एकमत हुन नसक्दा सरकारले पूर्णता पाउन सकेको थिएन । मुख्यतया माधवकुमार नेपाल नेतृत्वको नेकपा (ए.स.) र जनता समाजवादी पार्टीबीच मन्त्रालयको भागबण्डा नमिल्दा मन्त्रिपरिषद विस्तारमा ठिलाइ भएको थियो ।


काङ्ग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित सरकारको न्यूनत्तम साझा कार्यक्रम निर्धारण कार्यदलले मन्त्रालयको भागबण्डा टुङ्गो लगाएपछि सरकार विस्तार गर्न ढोका खुलेको हो । स्रोतका अुनसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय जनता समाजवादी पार्टी (जसपा) ले पाउने भएको छ ।


त्यसैगरी नेकपा एकीकृत समाजवादीको भागमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय परेको छ । परराष्ट्र मन्त्रालय काङ्ग्रेसको भागमा परेको छ भने शिक्षा मन्त्रालय माओवादी केन्द्रको भागमा रहेको छ । सत्ता गठबन्धनले मन्त्रिपरिषद् विस्तारको तयारी गरिसकेका छन् । भोलि मङ्गलबारसम्म मन्त्रिपरिषद् विस्तार भइसक्ने गठबन्दन दलका एक प्रभावशाली नेताले बताएका छन् ।