काठमाडौं – प्रतिनिधिसभाको चालु १० औं अधिवेशन सत्तापक्ष र प्रतिपक्षीबीच घम्साघम्सीमा चलिरहेको छ । संसदको आज बसेको बैठकमा प्रतिपक्षी दल एमालेले अवरोध खडागरेपछि सरकारले ल्याएको प्रतिस्थापन बजेट माथि छलफल नै गर्न नपाइए पास भएकोछ । नेकपा एमालेले न्याय नपाउँदासम्म संसद्को अवरोध निरन्तर जारी राख्ने बताएको छ । एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले आजको संसद् बैठकपछि आफूहरुले साङ्केतिक अवरोध गरिरहेको दावी गर्दै ‘प्रतिनिधिसभामा प्रस्तुत् भएका विजनेश वा एजेन्डाभन्दा पनि सभामुखको कार्यशैली, सभामुखले एमालेमाथि गरेको विभेदका कारण संसदमा आन्दोलनमा छौं । उहाँले त्यो प्रवृत्ति नसच्याएसम्म र त्यो घटनामा नेकपा एमालेले गरेको अन्यायलाई जबसम्म न्याय गर्नुहुन्न हाम्रो आन्दोलन जारी नै रहन्छ, भनेका छन् ।

अवरोधको निकास सभामुख र सत्ता पक्षले नै दिनुपर्ने प्रमुख सचेतक भट्टराईको भनाइ छ । आफूहरुलाई अरु सरहको व्यवहार नगर्दा आन्दोलनमा उत्रनु परेको उनको भनाइ छ । एमालेले माधवकुमार नेपालसहित कारवाही गरेका १४ जना सांसद्लाई पदमुक्त गरेको सूचना टाँस नगर्दासम्म संसद्को अवरोध जारी राख्ने बताउँदै आएको छ । सूचना टाँस नगरे राजीनामा दिन एमालेले सभामुखसँग माग गरिसकेको छ ।