काठमाडौं – प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । सङ्घीय संसद सचिवालयले दिएको जानकारी अनुसार आजको बैठकबाट प्रतिस्थापन विधेयक पास गर्ने तयारी गरिएको छ । प्रमुख प्रतिपक्ष दल एमालेको अवरोधबीच नै प्रतिस्थापन विधेयक पास गर्ने तयारी भइरहेको स्रोतको भनाइ छ ।

एमालेले केही समयदेखि निरन्तर प्रतिनिधि सभा बैठक अवरूद्ध गरिरहेको छ । विरोधबीच सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएको थियो । संसद्मा देखिएको गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक गरेता पनि एमाले अध्यक्ष केपी शर्मा ओली उक्त बैठकमा सहभागी हुनुभएको थिएन ।

प्रमुख प्रतिपक्षी दलसँग संवाद गरेरै अगाडि बढ्न कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पटक–पटक एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरे पनि निकास निस्किन सकेको छैन । एमालेले सभामुख सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै कारबाही गरेका सांसदको सूची टाँस नगरेको र पार्टी फुटाउन भूमिका खेलेको आरोप लगाइरहेको छ ।