काठमाडौं – इन्द्रजात्राको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा आज कुमारी रथयात्राको अवलोकनका लागि बसन्तपुर पुग्नुभएको छ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी मनाइने इन्द्रजात्रा पर्वमा कुमारी यात्रा हेर्न राष्ट्रपति र प्रधानमन्त्री पुग्ने प्रचलन रहँदै आएको छ ।

इन्द्रजात्राको दिन हनुमानढोकास्थित गद्दी बैठकमा राजतन्त्र रहुञ्जेल राजाबाट गणेश, भैरव र कुमारीको रथयात्रा नजर गर्ने पौराणिक परम्परा रहिआएकोमा अहिले भने राष्ट्र प्रमुखका साथै सरकार प्रमुखको उपस्थिति रहने गरेको हो । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन रहेको छ ।