पोखरा – पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई जनताले सजाय दिने दावी गर्नुभएको छ । आज आइतबार पोखरामा कास्की जिल्ला स्तरीय कार्यकर्ता भेला एवं विचार गोष्ठीमा अध्यक्ष नेपालले ओलीले पटक –पटक संविधानमाथि आक्रमण गरेकाले जनताबाट सजाय पाउने उल्लेख गर्नुभएको हो ।

संविधान दिवसको अवसर पारेर समाजवादीले गरेको कार्यक्रममा अध्यक्ष नेपालले संसद् पुनःस्थापना गर्ने सर्वोच्चको फैसला ऐतिहासिक भएको टिप्पणी गर्नुभएको छ । उहाँले भन्नुभयो ‘संविधानमाथि आक्रमण गर्ने केपी ओलीलाई जनताले सजाय दिन्छन् । संविधानभन्दा माथि कोही पनि छैन । कोही नेता हुँदैन ।’

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले असार २८ र फागुन ११ गतेको संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला संविधानवादको दृष्टिमा कोसेढुङ्गा सावित भएको दावी गर्नुभयो । ‘असार २८ को फैसला संविधानवादको कोसेढुङ्गा सावित हुनेछ । फागुन ११ गतेको फैसलाको आधारमा उक्त फैसला गरिएको छ ।’

उहाँले आफ्नो पार्टीले संविधानको पालना गर्ने प्रतिबद्धता जनाउँदै भन्नुभयो, ‘हामी संविधान मिच्ने छैनौँ । संविधानको पालाना गर्नेछौँ ।’ ओलीले पहिलोपटक आफूलाई प्रधानमन्त्रीबाट हटाउँछन् भनेर संसद् नै विघटन गरेको दावी गर्नुभयो ।

एकीकृत समाजवादीलाई जनताको आशा भरोसाको केन्द्र बनाउने र अरु दलभन्दा फरक देखिन कार्यकर्तालाई सुझाव दिनुभएको छ । एमाले जनताको नजरबाट खस्किसकेको नेपालको भनाइ छ । ‘एमालेको नाम लिने वित्तिकै जनताले नाक खुम्चयाउन थालेका छन् । जनताको नजरबाट खसेको छ, उहाँले भन्नुभयो ।