काठमाडौं – नेपाली काङ्ग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवादको टुङ्गो नलागेपछि निर्वाचन कार्यतालिका पुनः प्रभावित हुने भएको छ । पछिल्लो समय आगामी मङ्गलबारका लागि तय भएको वडा अधिवेशन आउन २ दिन मात्र बाँकी हुँदासम्म पनि १३ जिल्लाको क्रियाशील सदस्यताको विवाद टुङ्गो नलागेपछि निर्वाचन कार्यतालिका प्रभावित हुने भएको हो ।

काङ्ग्रेसको वडा अधिवेशन हुन नसकेका बाँकी जिल्लाहरुमा पालिका अधिवेशनको मिति पनि प्रभावित हुने देखिएको छ । निर्वाचन समितिले आगामी मङ्गलबार बाँकी १३ जिल्लाको वडा अधिवेशन गर्न नसकिने स्पष्ट पारेको छ । निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले दुई दिनपछि हुने वडा अधिवेशनका लागि हालसम्म क्रियाशील सदस्यता सूची प्रकाशित नभएको हुँदा उक्त दिन बाँकी जिल्लामा वडा अधिवेशन गर्न नसकिने बताउनुभएको हो ।

‘ हिजो शनिबार प्राप्त हुने भनेको १३ जिल्लाको क्रियाशील सदस्यताको सूची अहिलेसम्म प्राप्त भएको छैन । नामावली प्राप्त भएको कम्तीमा पाँच दिन निर्वाचन समितिलाई आवश्यक पर्छ’, यादवले भन्नुभयो, ‘आज सबै क्रियाशील सदस्यताको सूची प्राप्त भए पनि पर्सि मङ्गलबार वडा अधिवेशन गर्न असम्भव छ ।’ वडा अधिवेशन गर्नका लागि निर्वाचन अधिकृत खटाउन र प्रशिक्षण गर्न समय अपुग हुने यादवले बताउनुभयो ।
प्रदेश २ का ८ जिल्लासहित सुर्खेत,कैलाली, डोल्पा, बाँके र रसुवाको क्रियाशील सदस्यता टुङ्गिन बाँकी छ । पालिका अधिवेशन ९ असोजमा हुने गरी मिति तय गरिएको छ । यसअघि नै वडा अधिवेशन सकिएका ५७ जिल्ला तथा ५ गते वडा अधिवेशन हुने ७ जिल्लामा ९ गते पालिका अधिवेशन गर्ने कि नगर्ने भन्नेमा निर्वचन समितिले कुनै निर्णय गरिसकेको छैन ।

सातौँ पटक संशोधन गरिएको कार्यातालिकाअनुसार प्रदेश क्षेत्रीय अधिवेशन १२ असोजका लागि तोकिएको छ । एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन १५ असोज र त्यसभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन १८ असोजमा हुने गरी सारिएको छ ।

१३ जिल्लाको क्रियाशील सदस्यताको टुङ्गो नलागेपछि आगामी मङ्गलबार ७ जिल्लामा मात्रै वडा अधिवेशन हुने भएको छ । ३० भदौमा क्रियाशील सदस्यताको सूची प्रकाशित भएका काठमाडौं, मोरङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, बर्दिया, कपिलवस्तु र बाजुरामा वडा अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ ।