काठमाडौं – संविधान दिवसका दिन सरकारले कोभिड–१९ का कारण ज्यान गुमाएका डीएसपीद्वय राजकुमार केसी र समीरचन्द्र खरेललाई वीरता पदक दिने घोषणा गरिएको छ । केसी र खरेलले गत जेठमा कोरोना सङ्क्रमणका कारण नेपाल प्रहरी अस्पतालमा ज्यान गुमाउनुभएको थियो । कोभिड नियन्त्रणमा खटिएकै बेला उहाँहरू सङ्क्रमित हुन पुगनुभएको थियो ।

डीएसपी केसी काठमाडौं प्रहरी परिसरमा कार्यरत हुनुहुन्थ्यो भने खरेल प्रहरी तालिम केन्द्र महाराजगञ्जमा कार्यरत रहनुहुन्थ्यो । उहाँहरूबाहेक सरकारले प्रहरीका १ सय १९ जनालाई विभिन्न पदकद्वारा विभूषित गर्ने भएको छ ।
कार्यालय सहयोगी
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा पदकको घोषणा गर्नुभएको हो । पदकद्वारा सम्मान गर्ने घोषणा गरिएकाहरुमा प्रहरी कार्यालय सहयोगीदेखि महानिरीक्षक आईजीपीसम्म रहनुभएको छ । कार्यालय सहयोगी सूर्यकुमारी अधिकारीले राष्ट्रसेवा पदक प्रथम श्रेणी पाउने हुनुभएको छ ।

अधिकारी महानगरीय प्रहरी पहरा गण गुल्म नम्बर–४ सामाखुसीमा कार्यरत हुनुहुन्छ । नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्रीलाई सुकीर्तिमय राष्ट्रदीप प्रदान गर्ने घोषणा गरिएको छ ।