काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चालू आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट नरोकिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको भेटघाटमा उहाँले संसद्मा देखिएको गतिरोध राजनीतिक सहमतिका आधारमा समाधान भई बजेट कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री कार्कीले यही असोज ४ गते बस्ने संसद्को बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबारै छलफल भएको जानकारी दिनुभयो । उहाँले मुलुकमा दिगो शान्ति र समृद्धिका निम्ति सहमति र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

एक प्रश्नको जवाफमा एमसीसी विकास परियोजना भएकाले यसलाई राजनीतिकरण गर्नुहुँदैन भन्दै मन्त्री कार्कीले नेपालको इतिहासमा पहिलो पटक आएको ठूलो अनुदान फर्केर जानसक्ने भएकाले त्यसबाट पर्नसक्ने असरबारे बुझ्नुपर्नेमा जोड दिनुभयो । रासस