काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश नं एक र बागमती सरकारको नेतृत्वमा आफूहरूको दाबी रहेको बताउनुभएको छ । आज बिहान पार्टी केन्द्रीय कार्यालयको उद्घाटन गर्दै अध्यक्ष नेपालले प्रदेश नं एक र बागमतीको मुख्यमन्त्रीमा आफ्नो दलको दाबी रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो– ‘प्रदेश सरकारमा पनि हाम्रो सहभागिता हुनेछ । त्यसका लागि हामीले प्रदेश नं एक र बागमती प्रदेशमा मुख्यमन्त्री दाबी गरेर छलफल चलाइरहेका छौँ ।’ प्रदेश नं एक र बागमतीमा जुनसुकै बेला नयाँ सरकार बन्न सक्ने नेपालको भनाइ छ । ‘प्रदेश एक र बागमती प्रदेशमा पनि सरकार बनाउने प्रयास भइरहेको छ । त्यहाँ जुनसुकै बेला पनि नयाँ सरकार बन्न सक्छ,’ उहाँले भन्नुभएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनभित्र प्रदेश सरकारका विषयमा छलफल भए पनि नेतृत्वका विषयमा टुङ्गो नलागेको बताउनुभएको छ । ‘गठबन्धनभित्र यो विषयमा छलफल भएको छ,’ उहाँले भन्नुभयो, ‘केन्द्रमा सरकारले पूर्णता पाएपछि प्रदेशको नेतृत्व टुङ्ग्याउँछौँ ।’