पोखरा – नेकपा एमालेका नेता योगेशकुमार भट्टराईले देउवा सरकार राष्ट्रियताका मुद्धामा चुकेको आरोप लगाउनुभएको छ । सरकार बनेको दुई महिना बितिसक्दनसम्म पनि मन्त्रिमण्डल विस्तार गर्न नसक्नु र विदेशी हस्तक्षेपका विरुद्ध चुइँक्कसम्म नबोल्नु देउवा सरकारको कमजोरी भएको उहाँको टिप्पणी छ ।

आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भट्टराईले देउवा सरकारलाई जतिसक्दो चाँडो विस्थापित गरेर एमालेको नेतृत्वमा चुनावमा जानुको विकल्प नभएको बताउनुभएको हो ।

नेता भट्टराईले एमसीसीका विषयमा टिकाटिप्पणी गर्ने नागरिकलाई बोल्न नदिनु, सीमा विवाद बल्झँदै जानु, विदेशीका कारण नेपालीको मृत्यु हुँदा एक शब्द नबोल्नुले प्रधानमन्त्री देउवालाई पदमा बसिरहने नैतिक आधार नभएको दावी समेत गर्नुभएको छ । उहाँले एमसीसीबारे सरकारको धारणा नआइसकेको उल्लेख गर्दै सत्ता गठबन्धनमा रहेका दलको एमसिसीबारे आधिकारिक धारणा बाहिर ल्याउन समेत माग गर्नुभयो ।

नेता भट्टराईले पार्टी विभाजन दुःखद् भएको बताउँदै विभाजनले एमाले पार्टीलाई पाँच प्रतिशतमात्र क्षति पु¥याएको उल्लेख गर्नुृभयो । पार्टी विभाजनको असर केन्द्रीय नेतृत्वमा केही बढी देखिएपनि स्थानीय र प्रदेश तहमा विभाजनको असर नपरेको दाबी गर्नुभएको छ ।

उहाँले पार्टी विभाजन गरेर एकीकृत समाजवादी पार्टी बनाएका नेता माधव नेपाल एमालेमा फर्कनुको विकल्प नरहेको समेत उल्लेख गर्नुभएको छ । नेता भट्टराईले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने प्रयास भइरहेको भन्दै त्यसलाई एमालेले स्वीकार गर्न नसक्ने स्पष्ट पार्नुृभयो । गण्डकी प्रदेश सरकारले ल्याएको आम सञ्चार ऐनप्रति लक्षित गर्दै नेता भट्टराईले प्रेसमाथि लगाइने कुनैपनि अङ्कुश एमालेका लागि मान्य नहुने बताउनुभयो ।