काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अबको एकहप्ताभित्रै सरकारले पूर्णता पाउने बताउनुभएको छ । राजधानीको नयाँ बानेश्वरस्थित आलोकनगरमा स्थापना गरिएको केन्द्रीय कार्यालय शुक्रबार बिहान उद्घाटन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनुभएको हो ।

सरकार विस्तार नहुँदा प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता गठबन्धन पक्षीय दल र त्यसका शीर्ष नेताहरुको आलोचना भइरहेका बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले एकहप्ताभित्र सरकारले पूर्णता पाउने दावी गर्नुभएको छ ।

उहाँले सत्ता पक्षीय दलहरुको गठबन्धन आउने तीन तहको चुनावसम्म कायम रहने समेत बताउनुभएको छ ।

नेकपा एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीले आजदेखि आफ्नो केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको छ ।