काठमाडौं – मिर्गौला पीडित सरोकार समाजले बजेटमा मिर्गौला पीडितलगायतलाई मासिक उपचार खर्चको व्यवस्था गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई धन्यवाद दिएको छ । हिजो बिहीबार अर्थ मन्त्रालयमा पुगेर समाजका केन्द्रीय अध्यक्ष बलराम सुवेदीसहितको टोलीले धन्यवाद दिएको हो । अर्थमन्त्री शर्मालाई ९६ वर्षीया गंगादेवी पौडेल र समाजका अध्यक्ष सुवेदीले धन्यवाद पत्र प्रदान गरेका हुन् ।

प्रतिस्थापन विधेयकमार्फत सरकारले दीर्घरोगी, मिर्गौला डायलाइसिस, मिर्गौला प्रत्यारोपी, क्यान्सर र स्पाइनल इन्जुरी भई प्यारालाइसिस रोगका बिरामीहरूलाई मासिक भत्ता ५ हजार दिने बजेटमा व्यवस्था गरेको छ ।

मन्त्री शर्माले सरकार मिर्गौला पीडितलगायतको साथमा सधैँ रहेको बताउनुभयो । उहाँले सरकारले डायलाइसिस गरिरहेका मिर्गौलापीडितलाई नागरिकको अभिभावकत्व ग्रहण गर्नबाट नचुक्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘हामी छिट्टै निश्चित कार्यविधि बनाएर सम्पूर्ण बिरामीलाई रकम उपलब्ध गराउँछौँ । प्रत्यारोपण (मिर्गौला) मात्र होइन, डायलाइसिस गरिरहेका सबैलाई सहयोग हुन्छ ।’