काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) सङ्घीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका नेतालाई पाँच सुझाव दिनुभएको छ ।

डा.भट्टराईले आज प्रधानमन्त्री देउवा, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग भेटमा एमसीसी पारित गर्नुपर्ने लगायतका सुझाव दिनुभएको हो । उहाँले सरकारलाई अध्यादेशको छिटो छिनोफानो गर्दै सरकारलाई पूर्णता दिनुका साथै राष्ट्रिय सहमति कायम गरेर एमसीसी पारित गर्नुपर्ने सुझाव दिनुभयो ।

यस्तै बजेट पारित गर्नका लागि प्रतिपक्षीसँग छलफल गर्ने, अहिलेको गठबन्धनलाई पूर्ण कार्यकाल चलाउन विषयमा समेत सहमित कायम गर्नुपर्ने सुझाव पनि दिनुभयो । उहाँले दिनुभएका पाँच सुझावहरुलाई बुँदागत रुपमा हेर्नुहोस्ः


१. अध्यादेशको विषय छिटो छिनोफानो गरेर सरकारलाई छिटो भन्दा छिटो पूर्णता दिने ।
२. राष्ट्रिय सहमति कायम गरी एमसीसी पारित गर्ने ।
३. प्रतिपक्षीसँग छलफल गरेर बजेट पास हुने वातावरण बनाउने ।
४. गठबन्धनका सबै प्रमुख दल र दलका शीर्ष नेताहरूले राष्ट्रिय सहमति कायम गरी अहिलेको गठबन्धनलाई संसद्को पूर्ण कार्यकाल र चुनावसम्म नै लैजाने वातावरण बनाउन सबै जिम्मेवार हुनुपर्ने ।
५. जनचासो र जनहितका सामाजिक मुद्दाहरूलाई प्राथमिकतामा राखेर गठबन्धनका राजनीतिक पार्टीहरू र सरकारले समन्वय गरी समाधान खोज्नतिर लाग्नुपर्ने ।