काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले विद्यालयहरूले भौतिक उपस्थितिमा पठन पाठन गर्न नपाउने आदेश जारी गरेको छ । यदि पठन पाठन गर्नै पर्ने भएमा महानगरपालिका तथा नगरपालिकाहरुले विद्यालय सञ्चालनपूर्व आ–आफ्नो पालिकास्तरमा कोभिड–१९ सङ्क्रमणको अवस्था विश्लेषण गर्नुपर्नेछ । साथै विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सहचालक, क्यान्टिन सञ्चालक र सञ्चालन समितिका पदाधिकारी सबैले कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्ने प्रशासनले असोज १ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि जारी गरेको आदेशमा भनिएको छ ।

प्रशासनले आज जारी गरेको आदेशमा अभिभावक तथा सरोकारवाला समूहहरुको छलफल र समन्वयमा स्थानीय तहमा विद्यालय सञ्चालनको विवरण तथा ढाँचा तयार गरी सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रहनुपर्ने पनि उल्लेख गरेको छ । तोकिएका मापदण्ड पूरा नगरी कतिपय विद्यालयहरुले भोलिदेखि विद्यालय सञ्चालनको तयारी गरेको सन्दर्भमा प्रशासनले यस्तो आदेश जारी गरेको हो ।

यस्तै सभा, जुलुस, जात्रा, महोत्सव, भोज भतेर गर्न पनि प्रशासनले रोक लगाएको छ भने चाडपर्वहरू सांकेतिक रुपमा मात्रै मनाउन भनिएको छ । यस्तै स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म गर्न नपाउने पनि प्रशासनले जारी गरेको आदेशमा उल्लेख छ । यसबाहेक निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

शैक्षिक संस्थाहरू (विद्यालय) ले भौतिक उपस्थितिमा पठन पाठन गर्न/गराउन नपाउने । गर्नैपर्ने भएमा महानगरपालिका तथा नगरपालिकाहरूले विद्यालय संचालन गर्नु पूर्व आ–आफ्नो पालिकास्तरमा कोभिड–१९ सङ्क्रमणको अवस्था विश्लेषण गर्ने, विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सह–चालक, क्यान्टिन सञ्चालक र सञ्चालन समितिका पदाधिकारीहरू सबैले अनिवार्य रूपमा कोभिड–१९ विरुद्धको खोप लगाउनुपर्ने, अभिभावक तथा सरोकारवाला समूहहरूको छलफल र समन्वयमा स्थानीय तहमा विद्यालय सञ्चालनको विवरण तथा ढाँचा तयार गरी नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहहरूले जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरू सञ्चालन गर्न सक्नेछन् ।

कोभिड–१९ को लक्षण देखिएका तथा सङ्क्रमितको सम्पर्क (ऋयलतचबअत त्चबअष्लन) मा परेका व्यक्तिहरूले नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको एन्टिजेन तथा पिसिआर परीक्षणका लागि सम्बन्धित स्थानीय तह, जिल्ला अस्पतालसँग सम्पर्क गरी परीक्षण गराउन, भिडभाडबाट बच्न तथा बचाउन सतर्क रही स्वास्थ्य मापदण्डको प्रभावकारी पालना गर्ने/ गराउने लगायतका कुराहरुलाई विज्ञप्तिमा उल्लेख गरेको छ । प्रशासनले आदेशको अवज्ञा भएको पाइएमा सङ्क्रमक रोग ऐन,२०२० अनुसार कारबाही हुने चेतावनी समेत दिएको छ ।