काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले शान्तिपूर्ण आन्दोलनमा उत्रिएका जनतालाई नजिस्याउन सरकारलाई चेतावनी दिनुभएको छ । पूर्वप्रधानमन्त्री ओलीले आन्दोलनमा उत्रेका जनतालाई दमन गरेर नजिस्काउन सरकारलाई यस्तो चेतावनी दिनुभएको हो ।


एमाले अध्यक्ष ओलीले ‘म सरकारलाई चेतावनी दिन चाहन्छु, जनतालाई उत्तेजित नबनाऊ, नजिस्काऊ । जनता शान्तिपूर्ण आन्दोलनको सीमाभित्र रहन चाहन्छन् । सरकारले दमनको नीति अवलम्बन गरे प्रतिवादमा उत्रिनुपर्ने बाध्यकारी अवस्थामा आउन सक्ने भन्दै त्यो अवस्थामा नपुरयाउन’ सरकारलाई आग्रह गर्नु भयो ।


राजधानीमा आयोजित जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गरेको भन्दै आफुले सरकारको नेतृत्व गर्दा शान्तिपूर्ण जुलुसमा लाठी समेत नहानेको दावी गर्नुभयो । एमाले अध्यक्ष ओलीले काङ्ग्रेस नेतृत्वको गठबन्धनको सरकारले जनतालाई शान्तिपूर्ण रुपमा बोल्न समेत नदिएर अभिव्यक्ति स्वतन्त्राको उपहास गरेको आरोप लगाउनु भयो ।


यसैगरी अध्यक्ष ओलीले ‘प्रतिस्थापन विधेयकमार्फत् असोजमा गरिबलाई १० हजारका दरले रकम दिन गरेको निर्णयप्रति असन्तोष व्यक्त गर्दै ५ लाखलाई एकपटक १० हजार रुपैयाँ बाँडेर गरिबी बढ्छ ? भन्दै कुनै मापदण्ड बिना आफ्ना कार्यकर्तालाई सो रकम बाँड्न लागेको आरोप लगाउनु भएको छ । सरकारलाई प्रश्न गर्दै एमाले संसदीय दलका नेता समेत रहनुभएका अध्यक्ष ओलीले ‘को को गरिब ? जो जान्छ त्यही गरिब, कुनै मापदण्ड छ ? केही छ ? दश हजार बाँडेर गरिबी हट्छ ?, रोजगारी सिर्जना हुन्छ ? भनेर आक्रोश व्यक्त गर्नु भएको छ । आगामी निर्वाचनमा एमाले नौमति बाजा बजाएर मुल गेटबाट सिंहदरबार पस्ने दावी समेत गर्नुभएको छ ।