काठमाडौं – नेपाली काङ्ग्रेसले काठमाडौंमा असोज ५ गते वडा अधिवेशन गर्ने भएको छ । हिजो क्रियाशील सदस्यता सार्वजनिक भएपछि वडा तहको अधिवेशनको मिति तय भएको हो । केन्द्रीय निर्वाचन समितिले काठमाडौंसहितका दश जिल्लाको क्रियाशील सदस्यता हिजो मात्रै सार्वजनिक गरेको छ । काठमाडौं काङ्ग्रेसका सभापति सबुज बानियाँका अनुसार नयाँ र पुरानो गरी जिल्लाबाट ३० हजार जनाको नाम क्रियाशील सदस्यताका लागि सिफारिस भएको थियो ।

आगामी मङ्गलबार अर्थात् असोज ५ गते काठमाडौं महानगरपालिका सहित अन्य १० वटा नगरपालिकाका १ सय ३८ वटा वडामा एकसाथ अधिवेशन हुने भएको छ । नेपाली काङ्ग्रेसको पछिल्लो अधिवेशन कार्यतालिकाअनुसार वडा तहको अधिवेशन असोज ५ गतेसम्म गर्न समय दिइएको हो । साविकको कार्यतालिकाअनुसार भदौ १८ गते नै सुरु भएको अधिवेशन भदौ २६ गते सक्ने योजना थियो ।

त्यस्तै गाउँपालिका वा नगरपालिकाको अधिवेशन भदौ ९ गते, प्रदेशसभा क्षेत्रीय अविधेशन १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १५ गते अधिवेशन गर्ने नयाँ कार्यतालिका आएको छ । त्यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १८ गते अधिवेशन गर्नुेपर्ने, प्रदेश तहको अधिवेशन कात्तिक १०, ११ र १२ गते हुनेछ । महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म हुनेछ ।