काठमाडौं – बागमती प्रदेशको मुख्यमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीलाई जालझेल नगरी अन्तरपार्टी निर्देशन पालना गर्न आग्रह गर्नुभएको छ । आज काठमाडौं जिल्लाको भेलालाई सम्बोधन गर्दै उहाँले ०७५ जेठ २ मा रहेको जिम्मेवारीलाई स्वीकार गरेर अघि बढ्नुपर्ने बताउनुभएको हो ।

काठमाडौं जिल्लाको भेलामा अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, इञ्चार्ज रामबहादुर थापा बादललगायतका नेताहरुको सहभागिता रहेको छ । मुख्यमन्त्री शाक्यले भन्नुभयो, ‘हिजो छाती कमजोर थियो । आज छाती बलियो बनाउनुपर्छ । अन्तरपार्टी निर्देशन अक्षरशः पालना गर्नुपर्छ ।’

“अपानी १२ जारी भइसकेको छ । मेरो सम्पूर्ण कमरेडहरुलाई, खासगरी नेतृत्व तहको कमरेडलाई मेरो अनुरोध छ । जारी भएको अन्तरपार्टी निर्देशनको अक्षरशः पालना गरौँ । त्यसमा जालझेल, षड्यन्त्र आवश्यक छैन्,” उहाँले भन्नुभयो “०७५ जेठ २ मा जे भनिएको छ, जो आउँछ, त्यसलाई नेतृत्व मानेर अघि बढौँ । के फाइदा छ हामीलाई ? विभाजन भएर फाइदा भयो ?”

उहाँले अपानि पालना गरेर त्यसैअनुसार कमिटी गठन गरेर जानुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री शाक्यले हिजोको पूर्वाग्रह, मनमुटावलाई भुलेर मन फराकिलो बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले नेकपा एमालेलाई बचाउन र पार्टीलाई सुदृढ बनाउन महाधिवेशनमा प्यानल बनाएर जान नहुने पनि उहाँको भनाइ छ ।