काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मुलुकको उद्योग व्यवसायका क्षेत्रमा देखा परेका समस्या समाधान गर्न पहल गरिरहेको बताउनुभएको छ । उर्लाबारी उद्योग वाणिज्य सङ्घको ३३ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिडका कारण देशभरका समग्र व्यवसायी मारमा परेको बताउँदै समस्याको समाधान पहल गरेको बताउनुभयो ।

उहाँले व्यवसायीको उत्थानका लागि महासङ्घले नेपाल सरकारसँग राहतका कार्यक्रमका लागि पहल भइरहेको बताउनुभयो । उहाँले कोभिडको महामारीका कारण सबै क्षेत्र प्रभावित भएपनि अर्थतन्त्रको ठूलो हिस्सा धान्दै आएका देशका निजी क्षेत्रका व्यवसायी अहिले नराम्ररी प्रभावित बनेको उल्लेख गर्नुभयो । ढकालले भन्नुभयो ‘देशको व्यवसाय कोरोना महामारीका कारण निकै नै प्रभावित छ । बैंकको ब्याजदेखि घरभाडासम्मका कुरा आउँछन् । आम व्यवसायीका समस्यालाई समाधान गर्ने हाम्रो पहल हुनेछ । यसका लागि सरकारलाई हामीले बारम्बार घच्घच्याइरहेका छौँ ।’

सङ्घको नेतृत्व चयनका लागि बिहीबार निर्वाचन हुने उर्लाबारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रितम खड्गीले बताउनुभयो । सो पदका लागि ३३ जनाको उम्मेदवारी रहेकाले बिहीबार निर्वाचन हुने बताइएको छ । निर्वाचनका लागि तारामान लिम्बू र शेरबहादुर भण्डारीको टिम चुनावी मैदानमा छ । सङ्घमा एक हजार ७०२ सदस्य आबद्ध छन् । उहाँहरु निर्वाचनमा सहभागी हुने बताइएको छ ।